आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन, सगरमाथा दिवस मनाइँदै

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, ०८ : ४९
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन, सगरमाथा दिवस मनाइँदै

काठमाडौं । आज १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदैछ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।

सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औं वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औं वर्षगाठ मनाइने नेपाल पर्वतारोहण संघ ९एनएमए) ले जनाएको छ ।

दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्था सहितको मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार सोमवार बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिनेछ ।
ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ । सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलोपटक आरोहीलाई पदक प्रदान गर्न लागिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए । ‘सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई पहिलोपटक पदकसहित सम्मान गर्दैछौं,’ उनले भने ।

यसैगरी सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमअन्तर्गत सोलुखुम्बुको खुम्जुङ र काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार आज खुम्जुङमा हुने विशेष कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको एनएमएका महासचिव लम्सालले जानकारी दिए । खुम्जुङको औपचारिक कार्यक्रम सकेर एनएमएले काठमाडौंमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ । जुन १ तारिखमा काठमाडौंमा कार्यक्रम गरिने छ । आरोहीको सम्मानमा र्‍याली, सम्मान र रात्रिभोज लगायतका कार्यक्रम गरिनेछ ।

हिमालबारे जानकार समेत रहेका आङछिरिङ शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न उपयोगी हुने बताए । उनले भने, ‘सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ ।’

नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला ८ वटा हिमाल छन् । हालसम्म करीब ७ हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । आरोहणका क्रममा ३०० बढीको निधन भइसकेको छ ।

सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको २ पटक क्रमशः जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका हुन् । पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन् ।

उनले यही याममा २ पटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका छन् । दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका हुन् ।

पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म ६०० बढीले सगरमाथाको आरोहण गरेका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट शुरू भएको थियो । यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी कूल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

सोलुखुम्बुकी स्व। पासाङल्हामु शेर्पाले विक्रम संवत् २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । जापानी नागरिक स्व। जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।

सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा ९ वटा छन् । २ साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन ९मे २९ तारिख०को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ दिवस मनाउँदै आइएको छ ।

आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

प्रतिक्रिया दिनुहोस