विवेकशील साझा पार्टीले गर्‍यो रास्वपासँग एकीकरण गर्ने निर्णय, आइतबार घोषणा कार्यक्रम

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०८२, १९ : ४५
विवेकशील साझा पार्टीले गर्‍यो रास्वपासँग एकीकरण गर्ने निर्णय, आइतबार घोषणा कार्यक्रम

काठमाडौँ । समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबिचको ’बृहत्तर ध्रुवीकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।

’वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको वेला नवयुवाहरूको आन्दोलन ’जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणलाई तिब्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संवृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारले बताए । 

पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुङ्ग्याइने छ । आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस