विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०८२, १४ : ४९
विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन

मोरङ । यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । 

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो ।

विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए । 

उनले कार्यालयले चालक अनुमति पत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको बताए । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन । 

कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्राही आउने गरेको छन् । कार्यालयले हप्तामा तीनपटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिँदै आएको छ । 

कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदै आइरहेको छ । 

विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस