महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०८२, २० : १६
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ

काठमाडौं  । महिलाको ब्याग लुटपाट गरेको आरोपमा काठमाडौं प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

यही मंसिर ८ गते अन्दाजी सवा ५ बजेको समयमा तारकेश्वर नगरपालिका ११ नेपालटार स्थित सडक खण्डमा हिँडेर घर फर्किने क्रममा एक महिलाको साथमा रहेको नगद रकम, बैंकका चाबीहरू, मोबाइल सेट सहितको महत्वपूर्ण कागजातहरू भएको लेडीज ब्याग लुटपाट भएको थियो।

ब्याग लुटी मोटरसाइकलमा फरार भएका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा मंसिर ९ गते अन्दाजी ११ बजेको समयमा तारकेश्वर नगरपालिका ८ सुकुम्बासी टोलबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

साथै, उनीहरू विभिन्न मितिमा मोटरसाइकलमा आई लेडिज झोला लुट्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। हालसम्म ३ थान लेडिज झोला लुटपाट गरेको भनी चोरी शीर्षकमा ३ वटा जाहेरी दर्खास्त प्राप्त भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मानिसहरूमा जिल्ला स्याङ्जा, वालिङ नगरपालिका ११ डौवा घर भइ काठमाडौं, तारकेश्वर नगरपालिका ४ बस्ने वर्ष २७ को ईश्वर बुढाथोकी, नुवाकोट, गोस्याङ घर भइ जिल्ला तारकेश्वर नगरपालिका ४ गुहेश्वरी बस्ने वर्ष २० को विशाल राई, नुवाकोटकै किस्पाङ गाउँपालिका घर भइ तारकेश्वर नगरपालिका ८ शिवमन्दिर बस्ने वर्ष १८ को साजन तामाङ र नुवाकोट, चौगाडा घर भइ जिल्ला तारकेश्वर नगरपालिका ८ शिवमन्दिर बस्ने वर्ष १९ को समिर तामाङ रहेका छन्।