सुदूरपश्चिममा ठूलो दल बन्दै कांग्रेस, तर नेतृत्वमा छैन सन्तुष्टि

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १२ : ५९
सुदूरपश्चिममा ठूलो दल बन्दै कांग्रेस, तर नेतृत्वमा छैन सन्तुष्टि

धनगढी । स्थानीय तहको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्नै लाग्दा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस पहिलो दल हुने निश्चित देखिन्छ । पछिपछि लागेको नेकपा एमाले दोस्राे स्थानमा खुम्चिने भएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा पहिलो शक्ति बनेको एमाले यसपटक कमजाेर देखिएको छ । अघिल्लो पटक सुदूरपश्चिमका ८८ मध्ये ४० स्थानमा जीत हासिल गर्दा यसपटक एमालेले सुदूरपश्चिमबाट २५ देखि ३० स्थानीय तह जित्न सक्ने आंकलन गरेको हो ।

कांग्रेसले सुदूरपश्चिमका ८८ मध्ये (७० प्रतिशत) अर्थात् करिब ६० पालिका जित्ने लक्ष्य राखेको थियो । कांग्रेस दार्चुलामा शून्यमा झरेको छ । सुदूरपश्चिमका अधिकांश पालिकाको नतिजा सार्वजनिक भइसक्दा कांग्रेस ४० भन्दा बढी पालिका जित्ने अवस्थामा छैन । सोचेअनुसार सुदूरपश्चिमका पालिकामा जित हासिल गर्न नसक्नुमा आन्तरिक समस्या प्रमुख कारण रहेको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर बताउँछन् ।

‘हाम्रै आन्तरिक कारणले सोचेअनुसारको परिणाम पार्टीले ल्याउन सकेको देखिँदैन,’ बलायरले भने, ‘तर निराश हुनुपर्ने कारण छैन, प्रदेश, संघ र जिल्लाबीच राम्रो समन्वय भए आगामी दिनमा हामी सुदूरपश्चिममा बलियो हुने छौं ।’

उनले दार्चुला, बाजुरालगायतमा जिल्ला, प्रदेश र संघका कमिटीको राम्रो तालमेल नभएका कारण सोचेअनुसारको परिणाम नआएको बताए । उनले केही जिल्लामा कांग्रेसले सोचेभन्दा नराम्रो नतिजा ल्याएको भन्दै त्यसका बारेमा आगामी दिनमा समीक्षा गर्दै कमीकमजाेरी सच्याइने बताए ।

एमालेले सुदूरपश्चिममा कमजाेर बन्नुको पहिलो कारण पाँचदलीय गठबन्धनलाई मानेको छ । केही ठाउँमा भने आन्तरिक समस्याका कारण पनि पराजित भएको प्रारम्भिक बुझाई एमालेको छ । ‘सुदूरपश्चिममा सत्तारुढ पाँच दलको बलियाे गठबन्धन हुँदा पनि एमाले धेरै ठाउँमा थोरै मतले पराजित भएका छौं,’ एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने, ‘धेरै ठाउँमा गठबन्धनलाई नै जितेको छ, सबै दलहरू एक्लाएक्लै लडेको भए हामी २०७४ कै अवस्थामा हुने थियौं, केही स्थानमा भने आन्तरिक समस्याका कारण पनि उम्मेदवार हारेका छन् ।’ 

अहिलेसम्म एमालेले सुदूरपश्चिमका २४ पालिकामा जित हासिल गरेको छ । डडेल्धुरामा भने एमालेले खातासमेत खोल्न सकेन । खासगरी ठूला दुई दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलले एमालेलाई समस्या भएको सचिव पाठकले बताए । ‘तर पनि हामी राम्रो अवस्थामा आएका छौं,’ पाठकले भने, ‘दार्चुला, बैतडी, बाजुरा र अछाममा एमालेको उपस्थिति झनै बलियो बनेको छ, डडेल्धुराबाहेक अन्य जिल्लामा पनि निरास हुने गरी नतिजा आएको छैन, २५-देखि ३० पालिका जितिने देखिन्छ, सुदूरपश्चिममा हामी सन्तुष्ट नै छौं ।’