सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

रासस

सोमबार, २१ बैशाख २०८३, १२ : ०९
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्प दंशबाट हुने मृत्युदर र अपांगतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्प दंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले बताए।

“सेवा विस्तार गरिने सर्प दंश उपचार केन्द्रमा उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ”, उनले भने, “ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न चिकित्सक तथा आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मीका लागि दुई दिने विशेष तालिम सञ्चालन गरी सर्प दंश उपचारमा दक्ष बनाइएको छ ।”

उनका अनुसार जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भने सर्प दंशको उपचार सेवा पहिलेदेखि निरन्तर रूपमा सञ्चालनमा छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहँदै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार विगतमा डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वराड, पाटन, गोकुलेश्वर तथा डोटीमा सर्प दंशका बिरामीको मृत्यु हुने गरेको छ ।