काठमाडौँ । नेपाली काँग्रेसभित्र हालको संगठनात्मक अवस्थाबारे गरिएको आन्तरिक छलफलमा पार्टी एकता कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ। सहभागी नेताहरूले विशेष महाधिवेशन प्रक्रियाले आन्तरिक एकतामा चुनौती सिर्जना गरेको धारणा व्यक्त गरेका छन्।
नेता डा. शेखर कोइरालाले पार्टी र समसामयिक राजनीतिक अवस्थाबारे धारणा निर्माणका लागि राय संकलन गर्ने उद्देश्यले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका थिए। उक्त छलफल बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटेलमा सम्पन्न भएको हो।
छलफलमा सहभागी अधिकांश नेताहरूले पार्टीभित्र देखिएको विवाद गहिरिँदै गएको र संगठनात्मक एकता मजबुत हुन नसकेको विषयमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार हालको आन्तरिक असहमतिको प्रमुख कारण विशेष महाधिवेशनसँग सम्बन्धित प्रक्रिया रहेको धारणा व्यापक रूपमा उठेको छ।
त्यस्तै, केही नेताहरूले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने जिम्मेवारी नेतृत्व तहमा रहेको उल्लेख गर्दै सभापति गगन थापाको भूमिकाप्रति पनि समीक्षा गरेका छन्।
छलफलमा केन्द्रीय कार्यसमितिबाट अघि बढाइएको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति पनि प्रश्न उठाइएको छ। १५ औँ महाधिवेशनका लागि सदस्यता नवीकरण सम्पन्न भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने निर्णयको उद्देश्य र आवश्यकतामाथि सहभागीहरूले शंका व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, १६ : १३
लेखकबाट थप