फिल्मी शैलीमा हत्या गरी फरार आरोपी ५ दिनपछि पक्राउ

सफल खबर संवाददाता

सोमबार, २८ बैशाख २०८३, १० : ३७
फिल्मी शैलीमा हत्या गरी फरार आरोपी ५ दिनपछि पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो ग्यारेजमा कार्यरत युवकको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट मिल्ने साथीबीचको आपसी विवाद हत्या सम्म पुगेको खुलेको छ ।

 

गत वैशाख २२ गते राति करिब ११ः५० बजे भरतपुर–७ स्थित सम्भव अटो पसलमा काम गर्दै आएका करिब ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई तत्काल भरतपुर सरकारी अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा वैशाख २३ गते राति १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

घटनालगत्तै प्रहरी चौकी कृष्णपुरबाट प्रहरी निरीक्षक अनिलकुमार झाको नेतृत्वमा टोली परिचालन गरिएको थियो । अनुसन्धानका क्रममा आशिषमाथि २० देखि २२ ठाउँमा धारिलो हतियार प्रहार गरिएको खुलेको छ ।

 

प्रहरीका अनुसार मृतक र आरोपी दुवै जना फरक–फरक ग्यारेजमा काम गर्ने भए पनि उनीहरू घनिष्ठ मित्र थिए । सामाजिक सञ्जालमा भएको मुख छाडाछाड र विवादले उग्र रूप लिएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

घटनापछि फरार भएका मुख्य आरोपी पोखराको पृथ्वीचोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए । उनले सामाजिक सञ्जाल बन्द गर्नुका साथै मोबाइल फोनसमेत अफ गरेर लुकेर बसेको अवस्थामा प्रहरीले पाँच दिनपछि पक्राउ गर्न सफल भएको हो ।

 

पक्राउ पर्नेमा २७ वर्षीय र ३२ वर्षीय दुई युवा रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।