महिलाले सञ्चालन गरेका उद्योगलाई आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने–मन्त्री रेग्मी

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १५ : १३
महिलाले सञ्चालन गरेका उद्योगलाई आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने–मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताइन्।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनको कार्ययोजना थियो। त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन्।

स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दोरहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उनले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारिन्।

मन्त्री रेग्मीले भनिन्, ‘महिलाहरुले सुरु गरेका उद्योगहरुमा छुटको व्यवस्था गर्नुपर्छ। त्यसमा मैले अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ। राजस्व लाग्दोरहेछ। त्यसकारणले म आउनेवित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाइसकेका छौँ। त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिनजस्ता बस्तुहरुमा कर लाग्नुहुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौँ। र, अरु कुराहरुमा पनि महिलाहरुलाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाहरुले गर्ने जुन उद्यमशीलता छ, उद्योग छ। त्यसमा चाहीँ यति प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ। त्यो गर्ने भनेको बजेट भाषणमा हो। र, त्यसको लागि म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री हुँ। अर्थ मन्त्रालयसँग, अर्थमन्त्रीसँग, प्रधानमन्त्रीसँग समेत लबिङ गरेर कसरी छुट दिन सकिन्छ, कति छुट दिन सकिन्छरु भन्ने कुरा महिलाहरुलाई उद्यमी बनाउनका लागि छुट दिन सकिन्छरु त्यसका लागि लबिङ गर्नेछु। र, त्यो आगामी बजेटमा पार्न सक्दो कोसिस गर्नेछु।’

मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट वञ्चित नगर्न पटक–पटक आग्रह गरिन्। बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरुलाई अवसरबाट वञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको तर्क थियो। 

प्रतिक्रिया दिनुहोस