इन्धन मूल्य वृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, २० : १३
इन्धन मूल्य वृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि सार्वजनिक यातायातको भाडादर परिमार्जन नगरेको भन्दै यातायात व्यवसायीहरूले सरकारसमक्ष कडा चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक गरेको धारणा अनुसार इन्धनको मूल्य छोटो अवधिमा पटक–पटक बढ्दा सञ्चालन लागतमा उल्लेखनीय वृद्धि भएको भए पनि भाडा समायोजन नहुँदा व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ।

महासंघले सरकारलाई तत्काल भाडादर पुनरावलोकन गर्न आग्रह गर्दै माग सम्बोधन नभए देशभर सार्वजनिक यातायात सेवा अवरुद्ध गर्ने वा व्यवसायी स्वयंले भाडा निर्धारण गर्ने विकल्प अघि सारिएको जनाएको छ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले सिफारिस गरेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत तथा मालवाहक सवारीमा तराई र पहाड क्षेत्रमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत वृद्धि आवश्यक देखाइएको उल्लेख छ। तर, सम्बन्धित निकायमा उक्त प्रस्ताव निर्णयविहीन अवस्थामा रहेको जनाइएको छ।

विज्ञप्तिमा २०७२ सालदेखि लागत निर्धारणका प्रमुख सूचकहरूका आधारमा नियमित भाडा समायोजन हुन नसकेको र हाल व्यवसायीहरूले दैनिक आर्थिक घाटा व्यहोर्नुपरेको अवस्था रहेको उल्लेख गरिएको छ।

महासंघले बारम्बार गरिएको अनुरोधलाई बेवास्ता गरिएको ठहर गर्दै अब घाटा सहेर सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ। निर्धारित समयभित्र निर्णय नभए वैज्ञानिक आधारमै स्वतः भाडा वृद्धि गरिने तथा त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको जिम्मेवारी राज्य पक्षमै रहने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस