काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टि फेरि सतहमा आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिधा टकराव गर्न नसकिरहेका नेताहरूले अहिले संसदीय दलका नेता तथा कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’लाई केन्द्रमा राखेर असन्तुष्टि पोख्न थालेका छन् ।
बाहिरबाट हेर्दा निशाना बादल देखिए पनि यसको मूल केन्द्र ओली नै रहेको बुझ्न गाह्रो छैन । बिहिबार संसदमा बादलले दिएको अभिव्यक्तिपछि एमालेभित्र विवाद चर्किएको हो । उनको सम्बोधनलाई लिएर पार्टीका शीर्ष तहका नेताहरूबीच फरक–फरक धारणा सार्वजनिक भएका छन् । विशेषतः पार्टीभित्र आलोचनात्मक धार बनाउँदै आएका नेताहरूले यसलाई ओलीविरुद्द अभियान चलाउने अवसरका रूपमा लिएका छन् ।
एमालेका नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पराजयका कारण बाह्य शक्तिमा मात्र खोज्नु गलत हुने बताएका छन् । उनले पार्टीको अकर्मण्यता र कमजोरी नै वर्तमान अवस्थाको कारण भएको संकेत गरेका छन् । उनले ‘षड्यन्त्र’का कथा सुनाएर कार्यकर्तालाई भ्रममा राख्ने प्रवृत्ति त्याग्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको स्पष्ट टिप्पणी गरेका छन् । उनले यस विषयमा केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् । स्रोतका अनुसार, पौडेल यसअघि नै संसदीय दलको नेताको चयन प्रक्रियाप्रति असन्तुष्ट थिए र बादलको उदयप्रति पनि सन्तुष्ट देखिएका थिएनन् ।
नेताहरुको असन्तुष्टि पछि र दवावपछि एमालेले आज दिउँसो १ बजे बादलको अभिब्यक्तिमा छलफल गर्न आकस्मिक सचिवालय बैठक बोलाएको छ । महासचिव शंकर पोखरेलसँग परामर्श गरेर बादलले संसदमा धारणा राखेको बताइए पनि त्यसले पार्टीभित्रको असन्तुलन झन् उजागर गरिदिएको छ । बादलले संसदमा व्यक्त गरेका विचारमा ‘अदृश्य शक्ति’, सुरक्षा निकाय र प्रशासनिक संरचनाको भूमिकामाथि प्रश्न उठाइएको थियो, जसले पार्टीभित्रै असहजता सिर्जना गरेको हो ।
उपमहासचिव योगेश भट्टराईले पनि सार्वजनिक रूपमा पार्टीको सिद्धान्त र मूल्यबाट विचलित नहुन चेतावनी दिएका छन् । उनले जनताको बहुदलीय जनवाद ९जबज० अनुसार जनमतको सम्मान गर्दै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सुरक्षा निकाय, न्यायालय र प्रशासनप्रति पार्टीको विश्वास कायम रहनुपर्ने उनको स्पष्ट सन्देश छ ।
एमालेका एक पदाधिकारीका अनुसार, यो विवाद केवल अभिव्यक्तिको प्रश्न मात्र होइन । एमालेभित्र नेतृत्व, कार्यशैली र भविष्यको दिशाको विषयमा गहिरो असहमति बढ्दै गएको संकेत हो । विगतमा माओवादीले प्रयोग गर्ने गरेको सहायकमाथि प्रहार गरेर मुख्य लक्ष्यमा निशाना लगाउने रणनीतिजस्तै अहिले एमालेभित्र पनि देखिन थालेको टिप्पणी भइरहेको छ ।
ओली निकट नेताहरू क्रमशः सशक्त भइरहेका बेला असन्तुष्ट समूहले प्रत्यक्ष टकरावभन्दा परोक्ष दबाबको रणनीति अपनाएको देखिन्छ । त्यसका लागि बादल सहज लक्ष्य बनेका छन् । पछिल्लो घटनाक्रमले एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत गरेको छ । विष्णु पौडेल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत एक धारमा उभिँदा सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा जस्ता नेताहरू पनि समानान्तर बहसमा सक्रिय देखिएका छन् ।
यसरी, बादलमाथि केन्द्रित देखिएको विवादले सारमा एमालेभित्र नेतृत्वको प्रश्न फेरि उठाएको छ । आज बस्ने पार्टी सचिवालय बैठकले यो विवादलाई कुन दिशामा लैजान्छ भन्ने कुराले पार्टीको आन्तरिक शक्ति सन्तुलन कता मोडिन्छ भन्ने स्पष्ट पार्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा
संसद अधिवेशनअघि एमाले संसदीय दलको बैठक आज