प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०८२, १९ : ५१
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई उक्त पदमा शुक्रबार नियुक्त गरिएको हो।

नियुक्तिसँगै दाहालले शुक्रबारदेखि कार्यभार सम्हालेकी छन्। प्रधानमन्त्री कार्यालयका अनुसार उनले सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।

दाहाल दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनले रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा व्यावसायिक पत्रकारिताको अनुभव हासिल गरेकी छन्। पछिल्लो समय उनी उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत थिइन्।

यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा उनले विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छन्। पत्रकारिता, सञ्चार सीप तथा नेतृत्व विकाससम्बन्धी तालिममा पनि उनको संलग्नता रहँदै आएको छ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायसम्बन्धी विषयमा उनको अनुभवलाई नीतिगत तहमा उपयोग गर्ने उद्देश्यसहित उक्त नियुक्ति गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस