संसदमा छिर्‍यो कांग्रेसको विवाद, आज को बोल्ने भन्नेमै अन्यौल

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, ०८ : १६
संसदमा छिर्‍यो कांग्रेसको विवाद, आज को बोल्ने भन्नेमै अन्यौल

काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद संसदमा छिरेको छ । पार्टीभित्र पूर्व सभापति शेरवहादुर देउवा पक्षधर नेताहरुले चुनावी परिणामपछि पार्टीमा समानान्तर गतिविधि थालेपछि त्यसको असर कांग्रेसको संसदीय दलभित्र पनि परेको छ । 

जसकाकारण संसदमा प्रतिनिधित्व गर्ने अन्य ५ दलले आफनो दलको नेता चयन गरिसक्दा समेत कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । देउवा पक्षले आफ्नो तर्फबाट संसदीय दलको नेता चुनाव लडाउने संकेत गरेको छ । तर सस्थापन पक्ष (गगन विश्वप्रकाश) ले चुनावी परिणामपछि पार्टी कमजोर अवस्थामा पुगेकोले दल नेता आपसी समझदारीमा सर्वसम्मत चयन गर्ने तयारी गरेको छ ।

जसकाकारण कांग्रेसको यो विवाद अहिले संसदभित्र प्रवेश गरेको छ । दल नेता ताकिरहेका संसदकै सबैभन्दा जेष्ठ सदस्य रहेका कांग्रेस नेता अर्जुननरसिंह केसी आज पनि प्रतिनिधिसभाको बैठकको सभाध्यक्षको भूमिकामा रहनेछन् । आजको संसदको पहिलो दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलका प्रमुख शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका बनेको छ ।

राप्रपाबाट दल नेता ज्ञानेन्द्र शाही, श्रम सस्कृतिबाट दल नेता हर्क सम्पाङ राई, नेपाली कम्युनिष्ट पार्टीबाट दल नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट दल नेता रामबहादुर थापा (बादल) ले सम्बोधन गर्ने कार्यतालिका बनेको छ ।

रास्वपाका दल नेता बालेन्द्र शाह प्रधानमन्त्री बनिसकेकोले त्यहाँबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका बनेको छ । तर संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा रह्ने कांग्रेसमा आजको संसदको बैठकमा कसले बोल्छन् ? अन्यौल भएको छ ।

कांग्रेसले संसदमा आज बोल्ने नेताहरुको नाम अहिलेसम्म भनेको छैन । तर आन्तरिक विवादका कारण शीर्ष नेताले संसदमा सम्बोधन गर्ने बेला बोल्ने नेता को हुने भन्नेमा समेत कांग्रेसभित्र विवाद चर्किएको छ । आज संसदलाई सम्बोधन गर्ने नेता दल नेताको स्वभाविक बलियो उम्मेदवार पनि हुने भन्दै एकथरी कांग्रेस सांसदहरु भने अहिले नै आजको सम्बोधन आफुले गर्न पाउनुपर्ने लविङमा छन् । जसको विवाद संसद छिरेको छ । 

कांग्रेसमा आजको बैठकलाई सम्बोधन गर्न पूर्व सहमहामन्त्री भीष्मराज आङदाम्बे, रसुवाबाट चुनाव जितेका मोहन आचार्य, इलामबाट चुनाव जितेका निश्कल राई लगायत नेताहरुले आफुले बोल्न पाउनुपर्ने लविङ गरेका छन् । अर्जुननरसिंह केसी सभामुखको भूमिकामा रहने भएकाले उनले पार्टीका तर्फबाट बोल्न पाउने छैनन । यही कारण कांग्रेसको किचलो संसदमा छिरेको हो ।

प्रतिक्रिया दिनुहोस