भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नीति तथा कार्यक्रम प्रस्तुत : चार वर्षमै सडक, शिक्षा र खानेपानीको क्षेत्रमा ठूलो फड्को

देशमै नमुनाका कामहरु भरतपुर महानगरमा भए

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १३ : ०६
भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नीति तथा कार्यक्रम प्रस्तुत : चार वर्षमै सडक, शिक्षा र खानेपानीको क्षेत्रमा ठूलो फड्को

चितवन । देशकै मध्येभागमा रहेको भरतपुर महानगरपालिकाले नवौँ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगर सभामा चार वर्षमा भरतपुर महानगरले गरेका प्रगतिको फेहरिस्त प्रस्तुत गरेकी हुन् । 
बितेका चार वर्षमा विकास निर्माणका क्षेत्रमा गरेको प्रमुख उपलब्धिलाई प्रस्तुत गर्दै महानगर प्रमुख दाहालले देशमै नमुनाका कामहरु भरतपुर महानगरमा भएको बताइन् ।

५१० किलोमिटर सडक कालोपत्रे 

महानगर प्रमुख दाहालले चार वर्षको अवधिमा महानगरभित्र लामा छोटा गरी करिब ५१० किलोमिटर सडक कालोपत्रे भएको बताइन् । उनका अनुसार करिब ४५० किलोमिटर सडक ग्राबेल भएका छन्। 
महानगरीय रिंगरोड, लिंकरोड, बाइपास रोडको स्तरोन्‍नति, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै सहरी पूर्वाधार निर्माणका कार्य अघि बढिरहेका छन् । हुलाकी राजमार्ग विस्तार र स्तरोन्‍नति,चौबीसकोठी–चनौली–मेघौली सडक सहायक राजमार्गमा स्तरोन्‍नति भएको छ।
भरतपुर महानगरीय चक्रपथको रेखाङ्कन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको उनको भनाइ छ । नेपालकै पहिलो सबैभन्दा लामो यस चक्रपथको कुल लम्बाई ८८.६१५ किलोमिटर रहेको र विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माण कार्य जारी रहेको उनको भनाइ छ ।

भरतपुर विमानस्थलको स्तरोन्नति

लामो समयदेखि महानगरबासीले प्रतीक्षा गरेअनुसार भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा स्तरोन्‍नतिको काम भइरहेको महानगर प्रमुख दाहालले बताइन् । उनले लामो संघर्षपछि भरतपुुर विमानस्थललाई प्रादेशिक विमानस्थलमा रुपान्तरण गर्ने काम अहिले धमाधम भइरहेको बताइन् । 
यस्तै, चार वर्षको अवधिमा ९ वटा वडा कार्यालय निर्माण सम्‍पन्‍न भएका छन् । ६ वटा वडा कार्यालयको तला थप गरिएको छ । ५ वटा वडा कार्यालयहरूको निर्माण कार्य अन्तिम चरणमा रहेको  र बाँकी सबै वडा कार्यालयहरूको मर्मत तथा स्तरोन्‍नति गरी सेवा प्रवाहलाई सहज र सुविधायुक्त बनाइएको प्रमुख दाहालको भनाइ छ । 

सिटी हल निर्माण 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा(सम्मेलनहरू गर्न र “सम्मेलन पर्यटन” विकासमा समेत टेवा पुर्‍याउन आफ्नै सिटी हल बनाउने महानगरको लक्ष्यअनुरुप महानगरपालिकाको समन्वयमा सहरी विकास मन्त्रालयबाट वडा नम्बर १० मा निर्माण कार्य शुरू भइरहेको प्रमुख दाहाललले बताइन् । उनका अनुसार कोरोनाको कहरमा समेत सिटी हल निर्माणको काम धमाधम भइरहेको छ । उनले तोकिएको समयभित्रै सिटी हल निर्माणको काम सकिने बताइन् । उनले भनिन्, ‘कोरोनाको समयमा पनि कुनै दिन नरोकि सिटी हल निर्माणको काम भइरहेको छ, यो महानगरले गरेको सयौँ योजनामध्ये एक प्रमुख योजना हो ।’

शिक्षामा सुधारोन्मुख कामहरु 

विगत लामो समयदेखि प्रयास हुँदै आएको सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान र सबै विद्यालयमा तहअनुसार प्रधानाध्यापक व्यवस्थापनको कार्य सम्‍पन्‍न भएको छ। युवा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रमले विद्यालयको शिक्षण सिकाइमा महत्त्वपूर्ण योगदान दिएको पाइएको छ। नयाँ विद्यालय भवन निर्माण, स्कुल कलर कोड अनुसार रङ र जस्ताको छाना भएका भवनमा जिप्सनको फल्स सिलिङ हाली बालमैत्री विद्यालय निर्माण जस्ता कार्यक्रमबाट विद्यालयको भौतिक पूर्वाधार विकासतर्फ उल्लेख्य कार्य भएको प्रमुख दाहालले बताइन् 

बहु–उद्धेशीय व्यापारिक भवन 

भरतपुर महानगरपालिका वडा नं ३ मा आफ्नै स्वामित्त्व रहेको जग्गामा सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिमको देशकै पहिलो नमूना परियोजनाको रुपमादुई बेसमेन्ट पार्किंङ्ग सहित चौध तले बहु–उद्धेशीय, व्यापारिक भवन “भरतपुर मेट्रो प्लाजा”निजी क्षेत्रको लगानीमा डिजाइन, निर्माण, संचालन, व्यवस्थापन र हस्तान्तरण गर्ने गरी ३० वर्ष अवधिका लागि निजी क्षेत्रसँग परियोजना विकास सम्झौता निकट भविष्यमा सम्‍पन्‍न हुँदैछ।

पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर

भरतपुर महानगरलाई नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाइएको छ । २ वर्षअघि २०७६ कार्तिक ९ गते मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघसंस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, ‘भरतपुर महानगरभित्र सडक मानव देखिदैन, त्यस्तो ।’

६६ बिगाहा सार्वजनिक जमिन खोजी

विगत ४ वर्षको अवधिमा महानगरपालिकाभित्रका अतिक्रमित ६६ बिगाहा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरिएको छ ।

९६ वटा कानुन निर्माण 

विगत चार वर्षमा महानगरपालिकालाई आवश्यक पर्ने १९ वटा ऐन, ८ वटा नियमावली, ४९ वटा कार्यविधि, १० वटा निर्देशिका, १० वटा मापदण्ड समेत गरी जम्मा ९६ वटा कानुनहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । 

डेडिकेटेड इन्टरनेट सञ्‍चालन

भरतपुर महानगरपालिका र नेपाल टेलिकमबीच सम्झौता भए बमोजिम २९ वटै वडामा नेपाल टेलिकमको फाइबर जडान गरी डेडिकेटेड इन्टरनेट सञ्‍चालनका लागि सञ्जाल निर्माण कार्य सम्‍पन्‍न भएको छ । हरेक वडामा १ एमविपिएसका दरले डेडिकेटेड इन्टरनेट उपलब्ध गराई अनलाइन घटना दर्ता, राजस्व संकलनलगायतका सेवा प्रवाह विद्युतीय माध्यमबाट गरिएको छ ।
यस्तै, महानगरमा आपतकालीन कार्य सञ्‍चालन केन्द्र स्थापना गरी सञ्‍चालनमा ल्याइएको छ भने दमकल, डुङ्गा, नगर प्रहरीलाई जुनसुकै बखत पनि विपद् प्रतिकार्यमा जुटेर जनधनको रक्षा गर्नसक्ने गरी तयारी अवस्थामा राखिएको छ। 

आपतकालीन आवासको स्थापना 

भरतपुर २८ साझापुरमा आपतकालीन आवासको स्थापना गरिएको छ। साथै जङ्गली सिमानासँग जोडिएका बस्तीमा जङ्गली जनावारका कारण जनधनको क्षति न्यूनिकरण गर्न फाउन्डेसन सहितको मेस जाली घेराबार निर्माण गरिएको छ। यसबाट धेरै हदसम्म क्षति कम गर्न सहयोग पुग्ने महसुस गरको छु।
यस्तै, भरतपुर केन्द्रीय बसपार्कको स्तरोन्‍नति र भरतपुर अस्पतालमा विरामी कुरुवा घर निर्माण भई सञ्‍चालनमा आएको भरतपुर महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्र रानीपोखरी पार्क, देवीस्थान पार्क, राइनो पार्क, नवजागृति फन पार्क, विद्युतीय शवदाह गृह, लक्ष्मीनारायण मन्दिर निर्माणाधीन अवस्थामा छन्। महानगरका मुख्य ९० किमी सडकहरूमा स्मार्ट स्ट्रिट लाइटको जडान कार्य छिट्टै प्रारम्भ हुँदैछ।

खानेपानीमा उल्लेखनीय काम

नगरवासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी वितरण प्रणाली व्यवस्थित गर्न शारदा नगर खानेपानी आयोजना, जखडिमाई खानेपानी आयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतिपुर खानेपानी आयोजना, मेघौली खानेपानी आयोजना लगायतका आयोजना गरी २ अर्ब ४१ करोडको लागतमा खानेपानी आयोजना निर्माणको चरणमा रहेका छन्। 
 

प्रतिक्रिया दिनुहोस