भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । महानगरले विद्यालयमा भएका विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो ।
छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार छनोट भएका चार सय ३८ विद्यार्थीले कक्षा ११ र १२ दुवैमा छात्रवृत्ति पाउनेछन् । गत वर्ष दुई सय ६६ जनाले मात्र कक्षा ११ र १२ मा छात्रवृत्ति पाएका थिए ।
यसपटक चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको आचार्यले बताए। छनोटमा परेका विद्यार्थीलाई तीन दिनभित्र महानगरको कार्यालयमा प्रमाणसहित दाबी पेस गर्न अनुरोध गरिएको उनले बताए ।
“छनोटमा परेकामध्ये दुई सय १९ जना छात्रा छन् । छात्रवृत्तिका लागि एक हजार एक सय ६१ जनाले निवेदन दिएका थिए । महानगरले बनाएको मापदण्डभित्र परेका विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो”, आचार्यले भने । विज्ञान विषयमा छात्रवृत्ति पाउने विद्यार्थी तीन सय ३० जना छन् भने अन्य विषयमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या एक सय आठ रहेको उनले जानकारी दिए ।
सामुदायिकबाट दुई सय २० र संस्थागतबाट दुई सय १८ जनाले छात्रवृत्ति पाएका छन् । विद्यार्थीलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ (संशोधनसहित) को दफा ११ को उपदफा (४) बमोजिम छात्रवृत्ति प्रदान गर्न छनोटका लागि इच्छुक विद्यार्थीबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन माग गरिएको थियो ।
कार्यविधिअनुसार जेहेन्दार एक सय ६२, गरिब तथा विपन्न एक सय ६२, आदिवासी जनजाति ५३, दलित २६, सीमान्तकृत नौ, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइते १३ जना विद्यार्थी छनोट गरिएको प्रमुख आचार्यले बताए । छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना र मासिक शुल्क बुझाउन पर्दैन भने अन्य सबै शुल्क विद्यार्थी आफैँले बुझाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता