भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण

सफल खबर संवाददाता

विहीबार, १९ असार २०८२, १४ : ४६
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण

चितवन। भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा  सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।  बिहीबार एक कार्यक्रमका बीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), ड्राइभिङ, र एडभान्स ब्युटीपार्लर तालिम सञ्चालन गरेको थियो ।  

तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे। महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर नगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।  उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख दाहालले तालिममा लिएको ज्ञान सीपमार्फत उद्योग, व्यवसाय तथा रोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह पनि गरिन् । दक्ष जनशक्तिको माग स्वदेश तथा विदेशमा रहेकाले सीप सिकेपछि राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो ।  

यस्तै उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्ष्ति गरी वर्षेनी यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए ।  चालु आर्थिक वर्षको लागि सीप विकास कार्यक्रममा १ करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट १७ सय जनालाई तालिम दिइएको उनको भनाइ थियो ।   प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरू मध्ये अधिकांश युवा, महिला तथा बेरोजगार व्यक्तिहरू रहेका थिए । 

प्रतिक्रिया दिनुहोस