युरो कप फुटबलमा आज क्रोसिया र इङ्ल्यान्ड भिड्दै

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १४ : ०६
युरो कप फुटबलमा आज क्रोसिया र इङ्ल्यान्ड भिड्दै

काठमाडौं । युरोकप फुटबलअन्तर्गत आइतबार तीनवटा खेल हुँदै छन्। समूह ‘डी’ को खेलमा इंग्ल्याण्ड र क्रोएसिया भिड्ने छन्। यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुने छ।

समूह सी को खेलमा अस्ट्रिया र नर्थ मेसेडोनिया भिड्दैछन्। यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ।  पौने १ बजे सुरु हुने सोही समूहको अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेन भिड्दैछन्। जारी प्रतियोगितामा यी ६ वटै टोलीको पहिलो खेल हुने छ।

नर्थ मेसेडोनिया पहिलोपटक युरो कप खेल्दै छ। यसअघि दुईपटक मात्र युरोकप खेलेको अस्ट्रिया दुवैपटक समूह चरणबाटै बाहिरिएको थियो। उसले पछिल्लोपटक गत संस्करण खेलेको थियो।

क्रोएसिया गत विश्वकपको उपविजेता हो। त्यतिबेला इंग्ल्याण्डलाई नै सेमिफाइनलमा हराएर फाइनल पुगेको थियो। त्यतिबेला क्रोएसियाले अतिरिक्त समयमा पुगेको खेलमा इंग्ल्याण्डलाई २(१ गोलले हराएको थियो। इंग्ल्याण्डले पछिल्ला लगातार ६ अन्तर्राष्ट्रिय खेल जितेको छ। यता क्रोएसियाले ६ खेलमा तीन हार, दुई जित र एक बराबरीको नतिजा निकालेको छ।

सन् २०१६ को युरोकप र सन् २०१८ को विश्वकपमा छनौट नै नभएको नेदरल्यान्ड्स ५ वर्षपछि कम्तिमा महादेशस्तरीय प्रतियोगिता खेल्दै छ। पछिल्ला दुई संस्करणमा समूहगत चरणबाटै बाहिरिएको युक्रेन सुखद् सुरुवात गर्न चाहन्छ। उसल १६ वर्षपछि छनौट हुँदै सन् २०१२ को युरोकप खेलेको थियो।

प्रतिक्रिया दिनुहोस