काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । २०७४ फागुन ३ मा ओली प्रधानमन्त्री भएका थिए । तीन वर्षमै उनी कामचलाउ सरकारमा पुगिसकेका छन् । तर उनले त्यो कामचलाउ शब्द सुन्न रुचाउँदैनन् । ५ वर्ष सम्म स्थीर सरकार र समृद्द नेपाल बनाउने नारा दिएर तत्कालिन एमाले र माओवादीले चुनावी गठबन्धन बनाएर निर्वाचनमा गएका थिए । जनताले त्यही अनुसार झण्डै दुई तिहाई जनमत यी दुई वामपार्टीलाई दिए । त्यसपछि केन्द्रमा र ६ वटा प्रदेशमा यी दुई शक्ति मिलेर सरकार गठन भयो ।
त्यसपछि ३ जेठ २०७५ मा दुवै पार्टीले पार्टी नै एकता पनि गरे । तर एउटै ओलीको कारण न पार्टी एकता टिक्यो, न देशले नै स्थीरता पायो । ओलीले प्राप्त उपलब्धीलाई समेत जोखिममा राखेर संविधानमाथी नै बरु यो बीचमा प्रहार गरे । प्रतिनिधीसभा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नहुदा पनि असम्वैधानिक रुपले उनले विघटन गरिदिए ।
ओलीको यही कदमका कारण अहिले देश फेरि एकपटक राजनीतिक अधिकार सुनिश्चितताकालागि लड्नु परिरहेको छ । ओलीको तीन वर्षे सरकारलाई विभिन्न राजनीतिक दल, नागरिक समाज, विश्लेषकहरुले कसरी हेरेका छन् त ? सफलखबरको यही प्रश्नमा केही राजनीतिक विश्लेषकहरुको भनाई जस्ताको तस्तै :
सरकार पूर्णत असफल भयो
– श्याम श्रेष्ठ, विश्लेषक
राजनीतिक, आर्थिक र सामाजिक तीनै कोणले सरकार असफल हो । दुई वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछु भनेको थियो । तर, हामीले हरेक वर्ष एक खर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात गरेका छौं । भूमिसुधार त कता पुग्यो पुग्यो । नेकपा नै बिचौलियाको, सम्भ्रान्तको र जमिन्दारको पार्टीमा बदलियो ।
पार्टी नै अर्को वर्गको पार्टीमा रुपान्तर भयो । नेकपा नै विभाजन भयो । आर्थिक रुपले नेपालले प्रगति गर्ने अवस्था भएन । आयात–निर्यातको सन्तुलन देखिएन । निर्यात झन् घट्यो । वैदैशिक रोजगारमा जानेहरुको संख्या घटाउने भन्ने थियो, त्यो झन कोभिडका बेला समेत आफ्नो देश छोडेर रोजीरोटीका लागि नेपालीहरु विदेसिने क्रम रोकिन सकेन् ।
राजनीतिरुपमा भन्ने हो भने नेपालका लोकतन्त्र नै सखाप पार्ने काममा ओली लागे । दुई तिहाइको संसद सिद्धाएर अध्यादेशको शासन थालनी भएको छ । देश प्रगतिमनतिर गइरहेको छ । संघीयता, समावेशीता, महिला अधिकार एकदमै संकटमा गएको छ । भागरथी भट्ट, निमला पन्तहरुको बलात्कारपछि हत्याका दोषी पत्ता लगाउन चुकेको छ । राजनीतिक रुपमा हेर्दा देश अपराधीहरुको ठाँउ भयो । अपराधीका लागि देश त स्वर्ग नै भयो । गरिखाने मानिसहरुका लागि देश कुनै प्रणालीमा छैन् । देश भ्रष्टाचारको केन्द्र भयो । तीन बर्षलाई मुल्याङ्कन गर्दा कुनै पनि कोणबाट सन्तुष्टि लिने ठाँउ छैन् ।
ओलीले आफुमा हुदै नभएको अधिकार समेत प्रयोग गरेर राज्य सन्यत्रको दुरुपयोग गरिरहेका छन् । सबै सम्वैधानिक अंगलाई आफनो अधिनस्थ राख्ने कुचेष्टाको बाटोमा लागे । ओली लोकतन्त्रको हत्या गर्ने बाटोमा लागे । उनी कुनै पक्षमा पनि सफल देखिएनन् ।
ओलीले ध्वम्सात्मक बाटो पक्डिए
– लोकराज बराल, विश्लेषक
केपी ओली नेतृत्वको सरकारको तीनवर्षे कार्यकाल राजनीतिक, आर्थिक र सामाजिक तिन ओटै क्षेत्रमा तुलना गरेर हेर्ने हो भने निकै तल झरेको अवस्था देखिन्छ । उनका पछिल्ला कदमले राजनीतिलाई मात्रै अस्थिर बनाएको छैन, ७० वर्षपछि संविधानसभा मार्फत् जनताले बनाएको संविधानलाई समेत असफल बनाउन खोजेको पुष्टि हुन्छ ।
नेकपालाई जनताले दिएको जनमतका आधारमा हेर्दा राजनीतिले स्थायित्व प्राप्त गर्नुपथ्र्यो । तर त्यस्तो संस्कार राज्यसत्ताको नेतृत्वमा रहेका ओलीमा देखिएन, दुई तिहाइ नजिकको सरकार अस्थिर अवस्थामा पुग्नु ध्वंसात्मक बाटो हो, ओलीले ध्वम्सात्मक बाटो मात्र लिए । यस्तो दिन ल्याउन जनताले क्रान्ति गरेका थिएनन् । एउटा घर मिलाउन नसक्ने नेताले अहिले ठूल्ठूला कुरा गर्नु सुहाउने कुरा होइन । उनको नेतृत्वको सरकार आर्थिक रुपमा पनि उत्तिकै बदनामी भएको छ । सामाजिक क्षेत्रमा त्यस्तै अवस्था छ । चुनावी घोाषणा पत्रलाई रद्दीको टोकरीमा फाल्ने काम मात्र ओलीले गरेका छन्् । सबै क्षेत्रबाट हेर्दा ओली सरकार असफल देखिएको छ ।
भ्रम छर्न वढी माहिर देखिए ओली
– राजेन्द्र महर्जन, विश्लेषक
प्रधानमन्त्री केपी ओलीको तीन वर्षे कार्यकाल समिक्षा गर्दा उनी जनतालाई भ्रम छर्न बढी माहिर देखिनु भयो । ओली विकासवादी नभएर जनतालाई भ्रममा राखेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने नेता हुन भन्ने उनले देखाएका छन् । समृृद्धि, विकास, समाजवादलाई ओलीले भ्रमको खेती मात्रै बनाएका छन्, उनीसँग न दृष्टिकोण थियो न त योजना र कार्यक्रम थिए । जनता सार्वभौम हुन् र यिनीहरूप्रति जवाफदेही बन्नुपर्छ भन्ने व्यवहार पनि उनले देखाएनन्, लोकप्रिय नारा भजाएर जनतालाई भ्रममा राखे ।
ओलीमा ‘आई एम अ स्टेट’ भन्ने प्रवृत्ति हावी हुँदा पार्टी र मुलुकलाई उनले ध्वंसको बाटामा लगेका छन् । राजा महेन्द्रको हिन्दुवादी राष्ट्रवादको छाप अहिले ओलीमा प्रकट भएको छ । महेन्द्रको हिन्दु राष्ट्रवाद, त्यसमा पनि पहाडी र पुरुष राष्ट्रवादलाई अहिले ओलीले पछ्याएका छन्, आफूलाई अति राष्ट्रवादी मान्ने जोकोहीलाई सबै समस्या म मात्रै समाधान गर्न सक्छु भन्ने भ्रम पर्छ, जुन ओलीमा देखिइरहेको छ । भोलि चुनाव नै भयो भने उनले उठाउने कार्ड पनि राष्ट्रवादकै देखिन्छ । लोकतान्त्रिक प्रक्रिया बलियो खम्बा हो तर उनले सबैतिर आफूअनुकूलको व्याख्या गर्ने, नियन्त्रणको प्रक्रिया अघि बढाउने गरेका छन । राज्यका सबै निकायलाई नियन्त्रणमा राखेका छन ।
संघीयताको अर्थ छैन् भन्ने गरेका छन । राज्यको व्यवहार तटस्थ हुनुपर्नेमा आफ्नो राजनीतिक तुष्टिका लागि धर्म निरपेक्षतालाई गिजोल्न थालेका छन् । मासप्रति उनलाई डर छैन् । मासलाई नियन्त्रण गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा देखिन्छ तर सबैभन्दा ठूलो डर मिडियाको छ । त्यसैले मिडियामाथि नियन्त्रण कसरी गर्न सकिन्छ भनेर बाटो खोज्दै छन् । उनी निरंकुश शैलीमा अगाडी जान खोजेका छन् ।
एजेण्डामा फोकस कहिल्यै भएन
–पुरञ्जन आचार्य, विश्लेषक
नेकपाले समृद्धि र स्थिरताको नारा लिएर चुनावमा गएको थियो । जनताले पनि वामगठबन्धनको नाममा मत दिए । झण्डै दुई तिहाई मत हुदाँहुदै पनि सरकार राजनीतिक अस्थिरतामा गयो । स्थिरतामा ओली सरकार असफल नै भयो । सरकारको फोकस कहिल्यै पनि आर्थिक समृद्धि र सामाजिक रुपान्तरमा देखिएन । समाज रुपान्तरणका एजेन्डा कागजमै सीमित भए ।
आर्थिक समृद्धिमा पनि काम भएन् । कोभिडकै बेला धेरै देशले अर्थतन्त्र, रोजगारी जोगाए, जनजीवन जोगाएका थिए । यसमा सरकार फेल भयो । समृद्धि र समाज रुपान्तरणमा काम नभए पनि स्थिरता देओस्, पाँच वर्ष टिकोस् भन्ने थियो । अनेक बहानमा देशलाई मध्यवधीतिर लगियो । ओलीले आफ्नै घर मिलाउन सकेनन् । अनि देशलाई नै अस्थिरतामा धकेल्ने काम गरे । ओलीमा चरम ब्यक्तिवाद देखियो ।
बहुदलपछि देश अचानक मध्यवधीमा गयो र माओवादी जनयुद्ध सुरु भयो । अहिले पनि प्रधानमन्त्री दुई तिहाईको बहुमत, सातमध्ये ६ प्रदेशमा आफ्नो सरकार पाएको बेला आर्थिक रुपान्तरणको, समृद्धिको एजेन्डा प्रमुख हुनुपर्नेमा सरकार गठन भएकै बेलादेखि अस्थिरतातिर जान मात्र उद्दत रहिरह्यो । सरकारमा बसेर आफ्नै समकक्षी नेताहरुलाई धम्काउने काममा मात्र केन्द्रीत हुन पूग्यो ।
ठूलो तामझाम सहति प्रधानमन्त्रीले सामाजिक सुरक्षा कार्यक्रम ल्याउनुभएको थियो, त्यो पनि आफ्नै पोस्टर टाँस्नमा सीमित भयो । उहाँ देशको मुहार फेर्ने भन्दा आफु र आफनो समुहको मुहार फेर्ने, राजा महाराजा शैलीमा आफुलाई प्रस्तुत गर्नेतिर मात्र केन्द्रीत रहे । तीन वर्ष उनले त्यक्तिकै फाले ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ