ओली सरकारको तीन वर्ष : के भन्छन् राजनीतिक विश्लेषक ?

सफल खबर संवाददाता

सोमबार, ०३ फागुन २०७७, १० : ४९
ओली सरकारको तीन वर्ष : के भन्छन् राजनीतिक विश्लेषक ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । २०७४ फागुन ३ मा ओली प्रधानमन्त्री भएका थिए । तीन वर्षमै उनी कामचलाउ सरकारमा पुगिसकेका छन् । तर उनले त्यो कामचलाउ शब्द सुन्न रुचाउँदैनन् । ५ वर्ष सम्म स्थीर सरकार र समृद्द नेपाल बनाउने नारा दिएर तत्कालिन एमाले र माओवादीले चुनावी गठबन्धन बनाएर निर्वाचनमा गएका थिए । जनताले त्यही अनुसार झण्डै दुई तिहाई जनमत यी दुई वामपार्टीलाई दिए । त्यसपछि केन्द्रमा र ६ वटा प्रदेशमा यी दुई शक्ति मिलेर सरकार गठन भयो । 

त्यसपछि ३ जेठ २०७५ मा दुवै पार्टीले पार्टी नै एकता पनि गरे । तर एउटै ओलीको कारण न पार्टी एकता टिक्यो, न देशले नै स्थीरता पायो । ओलीले प्राप्त उपलब्धीलाई समेत जोखिममा राखेर संविधानमाथी नै बरु यो बीचमा प्रहार गरे । प्रतिनिधीसभा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नहुदा पनि असम्वैधानिक रुपले उनले विघटन गरिदिए ।

ओलीको यही कदमका कारण अहिले देश फेरि एकपटक राजनीतिक अधिकार सुनिश्चितताकालागि लड्नु परिरहेको छ । ओलीको तीन वर्षे सरकारलाई विभिन्न राजनीतिक दल, नागरिक समाज, विश्लेषकहरुले कसरी हेरेका छन् त ? सफलखबरको यही प्रश्नमा केही राजनीतिक विश्लेषकहरुको भनाई जस्ताको तस्तै :

सरकार पूर्णत असफल भयो

– श्याम श्रेष्ठ, विश्लेषक
राजनीतिक, आर्थिक र सामाजिक तीनै कोणले सरकार असफल हो । दुई वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछु भनेको थियो । तर, हामीले हरेक वर्ष एक खर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात गरेका छौं । भूमिसुधार त कता पुग्यो पुग्यो । नेकपा नै बिचौलियाको, सम्भ्रान्तको र जमिन्दारको पार्टीमा बदलियो । 

पार्टी नै अर्को वर्गको पार्टीमा रुपान्तर भयो । नेकपा नै विभाजन भयो । आर्थिक रुपले नेपालले प्रगति गर्ने अवस्था भएन । आयात–निर्यातको सन्तुलन देखिएन । निर्यात झन् घट्यो । वैदैशिक रोजगारमा जानेहरुको संख्या घटाउने भन्ने थियो, त्यो झन कोभिडका बेला समेत आफ्नो देश छोडेर रोजीरोटीका लागि नेपालीहरु विदेसिने क्रम रोकिन सकेन् । 

राजनीतिरुपमा भन्ने हो भने नेपालका लोकतन्त्र नै सखाप पार्ने काममा ओली लागे । दुई तिहाइको संसद सिद्धाएर अध्यादेशको शासन थालनी भएको छ । देश प्रगतिमनतिर गइरहेको छ । संघीयता, समावेशीता, महिला अधिकार एकदमै संकटमा गएको छ । भागरथी भट्ट, निमला पन्तहरुको बलात्कारपछि हत्याका दोषी पत्ता लगाउन चुकेको छ । राजनीतिक रुपमा हेर्दा देश अपराधीहरुको ठाँउ भयो । अपराधीका लागि देश त स्वर्ग नै भयो । गरिखाने मानिसहरुका लागि देश कुनै प्रणालीमा छैन् । देश भ्रष्टाचारको केन्द्र भयो । तीन बर्षलाई मुल्याङ्कन गर्दा कुनै पनि कोणबाट सन्तुष्टि लिने ठाँउ छैन् ।

ओलीले आफुमा हुदै नभएको अधिकार समेत प्रयोग गरेर राज्य सन्यत्रको दुरुपयोग गरिरहेका छन् । सबै सम्वैधानिक अंगलाई आफनो अधिनस्थ राख्ने कुचेष्टाको बाटोमा लागे । ओली लोकतन्त्रको हत्या गर्ने बाटोमा लागे । उनी कुनै पक्षमा पनि सफल देखिएनन् ।

ओलीले ध्वम्सात्मक बाटो पक्डिए

– लोकराज बराल, विश्लेषक
केपी ओली नेतृत्वको सरकारको तीनवर्षे कार्यकाल राजनीतिक, आर्थिक र सामाजिक तिन ओटै क्षेत्रमा तुलना गरेर हेर्ने हो भने निकै तल झरेको अवस्था देखिन्छ ।  उनका पछिल्ला कदमले राजनीतिलाई मात्रै अस्थिर बनाएको छैन, ७० वर्षपछि संविधानसभा मार्फत् जनताले बनाएको संविधानलाई समेत असफल बनाउन खोजेको पुष्टि हुन्छ ।

नेकपालाई जनताले दिएको जनमतका आधारमा हेर्दा राजनीतिले स्थायित्व प्राप्त गर्नुपथ्र्यो ।  तर त्यस्तो संस्कार राज्यसत्ताको नेतृत्वमा रहेका ओलीमा देखिएन, दुई तिहाइ नजिकको सरकार अस्थिर अवस्थामा पुग्नु ध्वंसात्मक बाटो हो, ओलीले ध्वम्सात्मक बाटो मात्र लिए । यस्तो दिन ल्याउन जनताले क्रान्ति गरेका थिएनन् । एउटा घर मिलाउन नसक्ने नेताले अहिले ठूल्ठूला कुरा गर्नु सुहाउने कुरा होइन । उनको नेतृत्वको सरकार आर्थिक रुपमा पनि उत्तिकै बदनामी भएको छ । सामाजिक क्षेत्रमा त्यस्तै अवस्था छ । चुनावी घोाषणा पत्रलाई रद्दीको टोकरीमा फाल्ने काम मात्र ओलीले गरेका छन्् । सबै क्षेत्रबाट हेर्दा ओली सरकार असफल देखिएको छ । 

भ्रम छर्न वढी माहिर देखिए ओली

– राजेन्द्र महर्जन, विश्लेषक
प्रधानमन्त्री केपी ओलीको तीन वर्षे कार्यकाल समिक्षा गर्दा उनी जनतालाई भ्रम छर्न बढी माहिर देखिनु भयो । ओली विकासवादी नभएर जनतालाई भ्रममा राखेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने नेता हुन भन्ने उनले देखाएका छन् । समृृद्धि, विकास, समाजवादलाई ओलीले भ्रमको खेती मात्रै बनाएका छन्, उनीसँग न दृष्टिकोण थियो न त योजना र कार्यक्रम थिए । जनता सार्वभौम हुन् र यिनीहरूप्रति जवाफदेही बन्नुपर्छ भन्ने व्यवहार पनि उनले देखाएनन्, लोकप्रिय नारा भजाएर जनतालाई भ्रममा राखे ।

ओलीमा ‘आई एम अ स्टेट’ भन्ने प्रवृत्ति हावी हुँदा पार्टी र मुलुकलाई उनले ध्वंसको बाटामा लगेका छन् । राजा महेन्द्रको हिन्दुवादी राष्ट्रवादको छाप अहिले ओलीमा प्रकट भएको छ । महेन्द्रको हिन्दु राष्ट्रवाद, त्यसमा पनि पहाडी र पुरुष राष्ट्रवादलाई अहिले ओलीले पछ्याएका छन्, आफूलाई अति राष्ट्रवादी मान्ने जोकोहीलाई सबै समस्या म मात्रै समाधान गर्न सक्छु भन्ने भ्रम पर्छ, जुन ओलीमा देखिइरहेको छ । भोलि चुनाव नै भयो भने उनले उठाउने कार्ड पनि राष्ट्रवादकै देखिन्छ । लोकतान्त्रिक प्रक्रिया बलियो खम्बा हो तर उनले सबैतिर आफूअनुकूलको व्याख्या गर्ने, नियन्त्रणको प्रक्रिया अघि बढाउने गरेका छन । राज्यका सबै निकायलाई नियन्त्रणमा राखेका छन ।

संघीयताको अर्थ छैन् भन्ने गरेका छन । राज्यको व्यवहार तटस्थ हुनुपर्नेमा आफ्नो राजनीतिक तुष्टिका लागि धर्म निरपेक्षतालाई गिजोल्न थालेका छन् । मासप्रति उनलाई डर छैन् । मासलाई नियन्त्रण गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा देखिन्छ तर सबैभन्दा ठूलो डर मिडियाको छ । त्यसैले मिडियामाथि नियन्त्रण कसरी गर्न सकिन्छ भनेर बाटो खोज्दै छन् । उनी निरंकुश शैलीमा अगाडी जान खोजेका छन् ।

एजेण्डामा फोकस कहिल्यै भएन

–पुरञ्जन आचार्य, विश्लेषक
नेकपाले समृद्धि र स्थिरताको नारा लिएर चुनावमा गएको थियो । जनताले पनि वामगठबन्धनको नाममा मत दिए । झण्डै दुई तिहाई मत हुदाँहुदै पनि सरकार राजनीतिक अस्थिरतामा गयो । स्थिरतामा ओली सरकार असफल नै भयो । सरकारको फोकस कहिल्यै पनि आर्थिक समृद्धि र सामाजिक रुपान्तरमा देखिएन । समाज रुपान्तरणका एजेन्डा कागजमै सीमित भए ।

आर्थिक समृद्धिमा पनि काम भएन् । कोभिडकै बेला धेरै देशले अर्थतन्त्र, रोजगारी जोगाए, जनजीवन जोगाएका थिए । यसमा सरकार फेल भयो । समृद्धि र समाज रुपान्तरणमा काम नभए पनि स्थिरता देओस्, पाँच वर्ष टिकोस् भन्ने थियो । अनेक बहानमा देशलाई मध्यवधीतिर लगियो । ओलीले आफ्नै घर मिलाउन सकेनन् । अनि देशलाई नै अस्थिरतामा धकेल्ने काम गरे । ओलीमा चरम ब्यक्तिवाद देखियो ।

बहुदलपछि देश अचानक मध्यवधीमा गयो र माओवादी जनयुद्ध सुरु भयो । अहिले पनि प्रधानमन्त्री दुई तिहाईको बहुमत, सातमध्ये ६ प्रदेशमा आफ्नो सरकार पाएको बेला आर्थिक रुपान्तरणको, समृद्धिको एजेन्डा प्रमुख हुनुपर्नेमा सरकार गठन भएकै बेलादेखि अस्थिरतातिर जान मात्र उद्दत रहिरह्यो । सरकारमा बसेर आफ्नै समकक्षी नेताहरुलाई धम्काउने काममा मात्र केन्द्रीत हुन पूग्यो ।

ठूलो तामझाम सहति प्रधानमन्त्रीले सामाजिक सुरक्षा कार्यक्रम ल्याउनुभएको थियो, त्यो पनि आफ्नै पोस्टर टाँस्नमा सीमित भयो । उहाँ देशको मुहार फेर्ने भन्दा आफु र आफनो समुहको मुहार फेर्ने, राजा महाराजा शैलीमा आफुलाई प्रस्तुत गर्नेतिर मात्र केन्द्रीत रहे । तीन वर्ष उनले त्यक्तिकै फाले ।
 

प्रतिक्रिया दिनुहोस