प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, १८ : १६
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश

काठमाडौं । बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । 

आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे पनि सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे । विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गर्दा आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३/३ विकेट हात पारे ।

यस अघि  टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले पुरै ५० ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो । आर्मीको सुरुआत खराब भए पनि मध्यक्रममा ब्याट्स म्यान विक्रम शोब र राजेश पुलामीले इनिङ सम्हाले । राजेश पुलामीले अर्धसतकीय इनिङ खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पु¥याएका थिए । राजेशले ६५ रनको योगदान गरेका थिए । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम शोबले ३५ रन बनाएर पवेलियन फर्किए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १÷१ विकेट लिए । फाइनल खेल शनिबार हुनेछ ।