सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी संस्थाका रूपमा विकसित गरिने छ : सञ्चार मन्त्री डा. तिमिल्सिना

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, १४ : ५६
सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी संस्थाका रूपमा विकसित गरिने छ : सञ्चार मन्त्री डा. तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरक्षण मुद्रण केन्द्रका लागि रु २२ करोड विनियोजन गरिएको जानकारी दिए। सञ्चार मन्त्री डा. तिमिल्सिनाले भने “सुरक्षणसँग सम्बन्धित छपाइ स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने सरकारको ध्येय रहेको छ । ”

सांसद रोश्नी मेचेले बैठकमा दुर्गम क्षेत्रका विद्यार्थीले अझै कापी-किताब सहज रूपमा प्राप्त गर्न नसकेको अवस्थामा सञ्चार तथा सूचना मन्त्रालयअन्तर्गत ‘मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान’ खरिदका लागि रु १५ करोड तथा सुरक्षण मुद्रण प्रेसका लागि रु २२ करोड विनियोजन गर्नुको औचित्यबारे प्रश्न उठान गरेकी थिइन् ।

उक्त प्रश्नको जवाफ दिँदै सञ्चार मन्त्री डा. तिमिल्सिनाले चालु आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मन्त्रालयअन्तर्गतका प्रत्येक शीर्षकमा स्वयं सहभागी भई विस्तृत छलफल गरेको उल्लेख गर्दै जनताको करबाट संकलित रकमको एक रुपैयाँ पनि दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।

उनले विनियोजित बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्र खर्च हुने बताउँदै खर्चमा मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बनाए।

त्यस्तै, शैक्षिक सामग्रीको आवश्यकता र सञ्चार पूर्वाधारमा गरिने लगानी फरक बजेट शीर्षक, फरक प्रकृति र फरक उद्देश्यका विषय भएकाले ती एकअर्काका विकल्प नभएको स्पष्ट पारे। साथै उनले सञ्चार क्षेत्रको प्राविधिक पूर्वाधार सुदृढीकरण गर्नुपर्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस