इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०८२, ०६ : ५३
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया  : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट आफू निराश रहे पनि टिमको प्रदर्शनप्रति गौरवान्वित भएको बताएका छन् ।

नेपालले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डसँग चार रनको साँघुरो हार बेहोरेको थियो ।

खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । चार रनको झिनो हारपछि नेपाली टिमका कप्तान रोहितले इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय रहेको बताए ।

‘हार भयो यसमा निराश छु । तर, मलाई टोलीप्रति धेरै गर्व छ । इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय छ, टिमका सबैले आफ्नो शतप्रतिशत दिए । हामी यहाँ केवल सहभागिता जनाउन मात्र आएका होइनौँ भन्ने विश्वास थियो,’ उनले भने, ‘यदि, हामीले हाम्रो आफ्नै शैलीको क्रिकेट खेल्यौँ भने, हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस