मन्त्रीको सुराकी गर्न सचिवलाई जिम्मेवारी

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १० : ३९
मन्त्रीको सुराकी गर्न सचिवलाई जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री खड्ग ओलीको मुखमा नै झुण्डिएको हुन्छ, मेरो शासनकालमा कोही कसैलाई पनि अन्याय हुन दिन्नँ । तर उनैले सरकारी कर्मचारी माथि कुन हदसम्मको ज्यादती गरेका छन् भन्ने प्रस्ट भएको छ ।  पटक पटक बढुवाका लागि पटक पटक सिफारिस भएपनि सचिव हुन नपाएका वरिष्ठ सहसचिव गोकर्णमणी दुवाडी लामै पापड पेलेपछि मात्रै बढुवा पाए ।

सात पटक बढुवाको सिफारिसमा परेका दुवाडी बल्ल सचिव हुन पाएपनि उनलाई कुनै जिम्मेवारी दिइएको छैन् । विगतमा निजामित प्रशासनमा लोदरेको उपनाम पाएका तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मी र खड्ग ओलीको चेपुवामा परेका दुवाडी पदस्थापना नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्क्याइएका छन् । 

दुवाडीलाई गर्नुसम्म मानमर्दन गरेको खड्ग ओलीको सरकारले अर्का सचिवलाई पनि त्यस्तै गरेको छ । लामो समयपछि बढुवा पाएका सुरेश आचार्यलाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्क्याइएको छ । जानकारहरुका अनुसार एकै पटक बढुवा भएका तीन सचिव मध्ये एक सचिवको पदस्थापना गरिएको छ । बाँकी रहेका दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । 

लामो प्रयासपछि अघिल्लो साता सचिवमा बढुवा भएका योगेन्द्र कार्कीलाई खड्ग ओलीले घनश्याम भुसाललाई चेक गर्न भन्दै कृषि मन्त्रालयमा पदस्थापन गरेका छन्् । तर कार्कीसँगै बढुवा भएका गोकर्णमाणी दवाडी र सुरेश आचार्यलाई भने अतिरिक्त समुहमा कोचिएको छ । हाल दवाडी र आचार्यले प्रधानमन्त्री कार्यालयमा हाजिरी गर्ने र घर जाने गरेका छन् । उनीहरुलाई कार्यकक्ष समेत नदिएर अपमान गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिवहरुले नै सचिवहरुलाई हाजिर गरेर घर गए हुन्छ, प्रधानमन्त्रीले कुर्सी पनि नदिनु भन्नु भएको छ भन्दै मानमर्दन गर्ने गरेका छन् । कृषि समुहबाट सचिवमा बढुवा भएका कार्कीलाई कृषि मन्त्रालयमा पदस्थापना गर्ने निश्चित नै थियो । तर, उनलाई घनश्याम भुसालको सुराकी गरेर विवरण बुझाउन भन्दै ओलीले विशेष जिम्मा दिएको श्रोत बताँउछ । 

कार्कीलाई काठमाडौं बाहिर पठाउने ठाउँ थिएन । दवाडी र आचार्य भने सुरुदेखि नै अन्यायमा पर्दै आएका सरकारी अधिकारी हुन् । यसअघि, दवाडीलाई सचिवमा बढुवा गर्न बढुवा समितिले सात पटकसम्म सिफारिस गरेको थियो । सातौ पटकमा मात्र सरकारले उनलाई सचिवमा बढुवा गरेको हो । यस्तै अन्यायमा परेका छन् आचार्य ।

आचार्यलाई सचिवमा बढुवा गर्न बढुवा समितिले १४ महिना अघि पहिलो पटक सिफारिस गरेको थियो । बढुवा समितिले गत साता दोश्रो पटक सिफारिस गरे पछि मात्र सरकारले उनलाई बढुवा गरेको हो । उनलाई काँग्रेसको सचिव भन्दै अपमान गरिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका ईश्वर पोखरेलले समेत दुवाडी र आचार्यलाई बस्ने कुर्सी पनि नदिनु भन्दै कर्मचारीलाई अह्राएको बताइन्छ । 

त्यसो त खड्ग ओलीले हरेक मन्त्रालयका सचिव तथा केही उच्चपदस्थ कर्मचारीलाई मन्त्रीको सुराकी गर्न र त्यसको सम्पूर्ण विवरण विष्णु रिमाल मार्फत उपलब्ध गराउन यसअघि नै भनेको बताइन्छ । एक मन्त्रालयका सचिवले प्रधानमन्त्रीबाट पछिल्लो पटक पनि मन्त्रीको सुराकी गर्ने निर्देशन आएको जानकारी दिए । उता सुशासनको गफ चुट्ने खड्ग ओलीको जिल्ला झापा मालपोत कार्यालयमा भएको घुसकाण्डको समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ । 
 

प्रतिक्रिया दिनुहोस