नेकपा विवाद

‘ओलीको बिदाइ नै खासमा वस्तुवादी’

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, १० : १९
‘ओलीको बिदाइ नै खासमा वस्तुवादी’

काठमाडौं । पछिल्लो समयमा सत्तारुढ नेकपा भित्र देखिएको घर झगडा के कसरी समाधान होला भन्ने बारेमा हालसम्म कुनै पनि अनुमान गर्न सकिएको छैन् । अराजनीतिक तरिकाले एकलौटीपूर्ण तरिकाले सरकार चलाउने, पार्टीलाई कुनै पनि जानकारी नदिने तथा आफना गुटका मान्छेलाई मात्रै राज्यका विभिन्न निकायमा भाग दिने प्रवृत्तिका कारण ओली विरुद्ध अरु नेताहरु उभिएका हुन् । 

नेकपाको नौ सदस्यीय सचिवालयमा ओली, ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै देखिएका छन् । गृहमन्त्री भएका कारण रामबहादुर थापाले मुख नखोलेको भएपनि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नै रहेको बताइन्छ । कुनै अवस्था आइपरे महासचिव समेत रहेका विष्णु पौडेल समेत बहुमत समूहमा नै सहभागी हुने बताइएको छ । त्यसो भएको खण्डमा ओलीसँग उनी सहित दुई जना मात्रै हुने र अर्को समूहमा सात जना हुने अवस्था रहेको छ । 

तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाई काम गर्न नदिने गरी उनै ओलीहरुले विधि र पद्दतीको कुरा उठाएका थिए । प्रचण्डले छापामार शैलीमा झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिएपछि पार्टीले भने अनुसार काम नगरेको भन्दै उनै ओलीहरुले पार्टी केन्द्रीय कार्यालयका तर्फबाट पठाएको पत्र यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनिरहेको छ । अरुहरुका लागि लाग्ने विधि र पद्दती ओलीका लागि नलाग्ने भन्ने होइन होला ? आम राजनीतिक विश्लेषक बताउछन् । ओलीमा रहेको अहंकार, घमण्ड र दम्भलाई परास्त गर्नु नै आजको प्रमुख कार्यभार रहेको नेकपाका नेता तथा कार्यकर्ता बताउँछन् । 

यस्तै, ओली विरुद्ध नेकपाको स्थायी कमिटिमा समेत बहुमत रहेको छ । केन्द्रीय समितिमा पनि ओलीको यथास्थिती असाध्यै कमजोर रहेको छ । भ्रष्टाचारको बात लागेका गोकूल बाँस्कोटा, बालुवाटारमा बसेर षड्यन्त्र भन्दा अरु नगर्ने र नदेख्ने सूर्य थापा, भक्तपुरतिर बालुवा तस्करी गर्ने महेश बस्नेतहरु मात्रै ओलीको पक्षमा देखिएका छन् ।  भ्रष्टाचारमा गन्हाएकाहरुले बोक्दैमा ओली नबोकिने अवस्था रहेको छ । यस्तै सु्वास नेम्वाङहरु पनि ओलीको कार्यशैलीका कारण आजित भएका छन् ।

त्यसकारण पार्टीको विधान र विधि अनुसार नै बहुमतको आधारमा निर्णय गरेर जानुपर्ने अवस्था आएको छ । अब ओलीले आफै अब म त्याग गर्न तयार भए भनेको अवस्थामा बाहेक उनलाई बहुमतका आधारमा निर्णय गरेर आराम गर्न बालकोट पठाउनुको विकल्प नभएको नेकपाका नेता तथा कार्यकर्ताको भनाइ रहेको छ । ओलीले तीन वर्षमा नेपाली जनताका लागि कुनै पनि काम गर्न नसकेको जगजाहेर नै छ । 

ओली तत्कालीन सोभियत संघका गोर्भाचोभको भूमिका देखिएका छन् । गोर्भाचोभले जसरी शक्तिशाली समाजवादलाई ढालीदिए, त्यसैगरी विदेशीको योजनामा ओलीले शक्तिशाली नेकपालाई सिध्याउने योजना बनाएका छन् । सोही कारण पनि उनलाई बिदा गरेर पार्टी र सरकारलाई जनपक्षीय बनाउनु, नेपाली जनताको आशा, चाहना र भावना अनुसार नै काम गर्ने बनाउनु आजको आवश्यकता हो । अब पनि नचेत्ने हो भने आगामी निर्वाचनमा नेकपा सिलो खोज्नुपर्ने अवस्थामा पुग्नेछ । त्यसकारण समय छँदै हेक्का राखौं र आवश्यक निर्णय गरौ, आम कार्यकर्ताले पार्टी नेतृत्वलाई यस्तै सुझाव दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस