​प्रधानमन्त्री ओलीले पटक–पटक किन भेटे काँग्रेस नेता गोपालमान श्रेष्ठ ?

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, ०८ : ४९
​प्रधानमन्त्री ओलीले पटक–पटक किन भेटे काँग्रेस नेता गोपालमान श्रेष्ठ ?

काठमाडौं । पार्टीभित्रै अप्ठयारोमा परेका प्रधानमन्त्री केपी ओलीले पछिल्ला दिनमा काँग्रेस नेतासँग हिमचिम बढाएका छन् । शनिबार एकाएक ओलीले आफ्ना विश्वासप्राप्त नेता सुवास नेम्वाङलाई साथमा राखेर काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखकसँग पार्टीभित्र प्रचण्डले अप्ठयारो पारेको भन्दै अब प्रचण्डसँग होइन आफु देउवासँग मिलेर अगाडी बढन चाहेको बताएका थिए ।

उनले देउवालाई सरकारमा सहयोग गर्न समेत आग्रह गर्दै प्रचण्डका कारण व्यवस्थामै संकट आउँदैछ, हामी मिलौं भन्ने प्रस्ताव राखेका थिए  । शनिबार देउवासँग झण्डै तीन घण्टा भएको छलफललाई शुरुमा दुवै पक्षले गोप्य राख्न चाहेका थिए । तर त्यो भेटवार्ता सार्वजनिक भएपछि देउवाको सचिवालयले स्वीकारेको छ । अझै यो भेटलाई प्रधानमन्त्री ओली र उनको सचिवालयले गोप्य नै राखरहेको छ ।

जब जब ओली पार्टीभित्र अप्ठयारोमा पर्छन, उनले काँग्रेस सभापति देउवालाई बालुवाटार निम्ताएर पार्टीभित्रकै नेताहरुलाई तर्साउने देखि राजनीतिमा नयाँ समिकरण निर्माण गरेर सरकारको नेतृत्व गर्न चाहिरहेको सन्देश दिन खोज्छन् । अहिले पनि उनले काँग्रेस नेताहरुलाई दिनहुँ बालुवाटार बोलाएर गर्न थालेको भेटले त्यस्तै सन्देश दिईरहेको छ । शनिबार देउवालाई भेट गरेको दुई दिन पछि मंगलबार प्रधानमन्त्री ओलीले फेरि काँग्रेसका नेता गोपालमान श्रेष्ठलाई बालुवाटार निम्ताएर अर्थपूर्ण भेटवार्ता गरेका छन् । बालुवाटार स्रोतका अनुसार, मंगलबार मात्रै प्रधानमन्त्री ओलीले काँग्रेस नेता श्रेष्ठसँग एकै दिन दुइदुई पटक भेटवार्ता गरेका हुन् । 

ओलीलाई भेटेर श्रेष्ठले वुढानिलकण्ठ पुगेर सभापति शेरबहादुर देउवालाई भेट गरेको र पून फेरि बालुवाटार आएर प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए । दुई दुई पटक सम्म गोपालमान श्रेष्ठलाई एकै दिन प्रधानमन्त्री ओलीले किन महत्व दिएर भेट गरे ? यो अहिले निक्कै चर्चामा छ । श्रेष्ठ काँग्रेसमा त्यस्ता नेता हुन्, जो सभापति शेरबहादुर देउवाका विश्वासप्राप्त नेता हुन् । सभापति देउवानै पटक पटक बालुवाटार जाँदा त्यसको सन्देश अर्काे जाने र काँग्रेस भित्र पनि अनेक चर्चा हुन सक्ने देखेपछि बालुवाटार र बुढानिलकण्ठ दुबैबाट दोश्रो तहका नेताका रुपमा श्रेष्ठलाई परिचालन गरेर सन्देश प्रवाह गर्ने काममा प्रयोग गरिरहेको हुन सक्ने अनुमान लगाईएको छ ।

१३ मंसिरमा नेकपाको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्तावको काउन्टर जवाफ ओलीले ल्याउने बताईएको छ । तर पार्टीमा उनी अल्पमतमा छन् । उनको कार्यशैली र मपाइत्व र म मात्रै सबै हुँ भन्ने ब्यक्तिवादी प्रवृतिको चर्काे आलोचना भईरहेको छ । ओलीले समेत सचिवालयमा प्रस्ताव ल्याउन खोजेपछि प्रचण्ड नेपाल समुह पार्टी विधानको धारा ६० अनुसार, बहुमतको निर्णय पार्टी निर्णय हुने गरी अगाडी जान खोजेमा नेकपामा त्यही दिनबाट संकट आउने ओली पक्षका नेताहरुले तर्क गरिरहेका छन् ।

ओलीले सहज रुपमा पार्टी निर्णय कार्यान्वयन गर्नुको साटो पार्टीलाई चोइटाएर लैजानका लागि अध्यादेश मार्फत पार्टी विभाजन सम्बन्धी व्यवस्था लचिलो बनाउने योजनामा ओलीले भित्री तयारी समेत गरिरहेका छन् । यस्तो बेला उनले काँग्रेसका सभापति शेरबहादुर देउवा र उनी निकटका नेतालाई दिनहुँ बालुवाटारमा बोलाएर गर्न थालेको भेटवार्ता रहस्यपूर्ण देखिएको छ । अझै गोपालमानले प्रधानमन्त्री ओलीसँग भेट गर्दै सभापति देउवा भेटने र फेरि देउवा भेटेर आएर प्रधानमन्त्री ओलीलाई भेट गर्नुले राजनीतिमा नयाँ खिचडी के पाक्दैछ ? भन्ने अड्कलबाजी हुन थालेको छ । 

तर कतिपय स्रोतले भने गोपालमानको बालुवाटार दौडधुप भित्र आफ्नै स्वार्थ रहेको पनि बताउन थालिएको छ । अख्तियारको रिक्त आयुक्तमा नियुक्तिको तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । यसमा काँग्रेससम्मलाई भागवन्डा लगाएर देउवालाई रिझाउने योजनामा ओली देखिन्छन् । देउवाले प्रतिपक्षी भूमिका निर्वाह गर्न नसक्नुमा सम्वैधानिक निकाय देखि विश्वविद्यालय सम्म भागवन्डा खोज्नु प्रमुख कारण रहेको पनि बताइन्छ ।

अख्तियारमा गोपालमान श्रेष्ठ राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेगमीलाई लैजान चाहन्छन् । यसका लागि उनी आफ्नै पार्टी सभापति देखि प्रधानमन्त्रीसम्मलाई रिझाउन चाहिरहेका छन् । काँग्रेसलाई दिन खोजिएको एक पदमा रेग्मी, जयबहादुर चन्द लगायतको चर्चा छ । तर दुवै नाममा ओलीले रुची नदेखाई तेस्रो नाम खोजिरहेका छन् ।

चन्दको नाममा नेकपा सांसद नवराज सिलवालले प्रधानमन्त्रीलाई रोक्नुपर्नेमा सहमत गराईसकेका छन् । त्यसकारण रेग्मीका विषयमा दौडधुप गरेको हुन सक्ने पनि चर्चा छ । तर जे होस प्रधानमन्त्रीले विपक्षी नेता देउवा देखि गोपालमान श्रेष्ठ सम्मलाई बोलाएर पटक पटक भेट गर्नु अर्थपूर्ण देखिएको छ ।