नेकपा सचिवालयको बैठकमा के गर्लान्, वामदेव गौतम ?

वामदेव गौतम निकट नेताहरु भन्छन्,–‘यो पटक प्रधानमन्त्रीका जस्तोसुकै अफर आएपनि प्रचण्ड कमरेडका साथ वामदेव कमरेडले छोडनुहुन्न’

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, ०९ : ४०
नेकपा सचिवालयको बैठकमा के गर्लान्, वामदेव गौतम ?

काठमाडौं । नेकपामा जतिबेला दुई अध्यक्षको टकराव देखिन्छ, तव वामदेव गौतम के गर्लान् ? भन्ने प्रश्न तेर्सिन्छ ? सबैको ध्यान त्यत्तै केन्द्रीत हुन्छ । गौतमको अस्थिर राजनीतिक स्वभावका कारण पनि उनी पार्टीभित्रको अन्तरविरोधमा कुन कित्तामा उभिन पुग्छन् ? ठ्याक्कै भन्न गाह्रो हुन्छ ।

ओली र दाहालको साझा प्रस्तावमा शुरुमै फरक मत ल्याएका उपाध्यक्ष गौतमले पार्टी एउटा अध्यक्ष र सरकार अर्काे अध्यक्षले हेर्ने गरी कार्यविभाजन प्रस्ताव ल्याउनुपर्ने २०७५ कै मंसिरमा सम्पन्न स्थायी समिति बैठकमा ल्याएका थिए । त्यसपछि पनि अनेक श्रृंखलामा चलेको पार्टीभित्रको अन्तरविरोधमा उनी शुरुमा अध्यक्ष प्रचण्डको कित्तामा खुलेर लागेका थिए । तर बैठक आसपास उनका लागि प्रधानमन्त्रीका अनेक आश्वासन पुग्छन । कहिले ओली आफैं उनको निवास पुगेर वामदेव फकाँउछन, कहिले महासचिव विष्णु पौडेल पठाँउछन, कहिले आफु निकट नेताहरुको डफ्फा नै पठाउने सम्म गरेका थिए । 

वामदेवको अस्थिर स्वभाव र उनको बढ्दो महत्वाकांक्षामा खेलेर प्रधानमन्त्री ओलीले पटक पटक गौतमलाई आफनो संकट समाधानको मोहोरा बनाउने काम मात्र गरे । तर यसपटक के होला, वामदेवले लिने अडान ? नेकपा वृत्तमा निक्कै चासो देखिन्छ । पार्टीको ७९ दिनको विवाद साम्य गर्न दुई अध्यक्षको कार्यविभाजन प्रष्ट गर्ने देखि केन्द्र, प्रदेश सम्मका मन्त्रिमण्डल पूर्नगठन गर्ने, राजनीतिक तथा सम्वैधानिक नियुक्तिहरु पार्टी सचिवालयमा छलफल गर्ने, दुई अध्यक्षको परामर्शमा सहमतिमा गर्ने जस्ता निर्णय नेकपाले गरेको थियो ।

त्यसपछि भने नेकपा विवाद अब साम्य भएर महाधिवशेन लक्षित बन्ने अनुमान गरिएको थियो । तर प्रधानमन्त्री ओलीले निर्णयलाई बाध्यतामा गरिएको सम्झौता भन्दै १० दिन पनि टिकाउन सकेनन् । उनले फेरि अध्यक्ष प्रचण्डसँग जुहारी खेले । अर्थात, प्रचण्डको कार्यकारी अधिकार माथी धाबा बोल्ने काम गरे । प्रचण्डलाई होच्याउने र पार्टीमा उपसभापति भएको सम्मका अभिब्यक्ती दिए । पार्टी निर्णय अनुसार मन्त्रिमण्डल पूर्नगठन गर्नुको साटो आफ्ना कोटरीका नेतालाई मात्र मन्त्रिमण्डलमा सहभागी गराए, राजदुत लगायतका नियुक्तिमा आफ्नै पारा देखाए ।

पार्टीमा फेरि निरंकुश र स्वेच्छाचारि ढंगले अगाडी बढने बाटो समाए । त्यसपछि पून चर्किएको दुई अध्यक्षका बीचको जुहारीमा बैठक बोलाउन समेत ओलीले अनेक बहानाबाजीमा टार्न खोजे । तर अन्तत प्रचण्ड लगायतका वहुमत सचिवालय सदस्य अगाडी बढ्ने देखेपछि भने ओली पनि लत्रिएर बैठक बोलाउन तयार भएका छन् । जसअनुसार नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । जँहा वामदेव गौतमले के बोल्लान् ? उनको भूमिका निर्णायक देखिदैछ । गौतम अहिले प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहमा छन् । अर्का अध्यक्ष ओलीको कित्तामा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल छन । गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल) सरकारमा रहेकै कारण ओलीको विरोधमा जान सकिरहेका छैनन् ।  उनले ओलीलाई साथ दिईरहेका छन् ।

यस्तो अवस्थामा गौतम जता ढल्किन्छन, उतै नेकपाको सचिवालयमा बहुमत पुग्ने देखिन्छ । यस अर्थमा पनि वामदेव आजको सचिवालयमा निर्णायक पात्रका रुपमा छन् । महत्वाकाँक्षी स्वभावका र प्रधानमन्त्री ओलीले फाल्ने चारोमा गौतम पटक पटक लोभिएका थिए । जसले ओलीको सत्ता संकट पटक पटक जोगिदै आएको थियो । अहिले पनि बैठकको ठिक पूर्वसन्ध्यामा सर्वाेच्चले उनलाई सम्बैधानिक राजनीतिक पद लिन पाउने गरी गौतमलाई मन्त्री बन्न पाउने सम्मको बाटो खुल्ला गरिदिएको छ । यो निर्णय आए लगत्तै गौतमलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बधाई दिएका छन् ।

ओलीले उनलाई फकाउने प्रयास गरेका कारण उनले प्रचण्ड शिविर छोडलान् या अडिग भएर टिक्लान् ? उनी निकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले सफलखबरसँग भने, –‘यसपटक वामदेव कमरेड जुन कित्तामा उभिनुभएको छ, त्यही कित्तामा अडिग हुनुहुन्छ । उहाँले प्रचण्ड कमरेडको शिविर छोडनुहुन्न ।’ ओलीले उनलाई उपप्रधान सहित रोजेको मन्त्रालय दिन प्रस्ताव गर्न सक्छन्, यस्तो बेला गौतम टिक्लान् ओली इतर शिविरमा ? उनको विगतले पनि अनेक प्रश्न उब्जाईदिएको छ ।

ओली इतर शिविरमा पनि गौतमको भूमिकाका विषयमा नेताहरुले अनेक विमर्श गरेका छन् । तर गौतमले बिहिबार साँझ प्रचण्डलाई भेटी यो पटक आफु ओलीको कुनै पनि दाउपेचको शिकार नहुने प्रष्ट पारेका छन् । ‘यो विधि र प्रक्रियाको लडाई हो, म यसपटक विधि र प्रक्रियाको पक्षमा द¥होसँग लडनेछु,’– प्रचण्डसँग गौतमले भनेका थिए । तर ओली समुहका नेताहरु गौतमलाई उपप्रधान सहित आर्कषक मन्त्रालय दिए, उनी प्रचण्ड शिविर छोडेर सरकारमा जाने जिकिर गरिरहेका छन् ।

त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखि महासचिव विष्णु पौडेल र विभिन्न ब्यापारिक मानिसहरुसम्मलाई ओलीले गौतम फकाउन परिचालन गरिसकेका छन् । महासचिव पौडेलले हिजो बिहिबार बिहान र साँझ दुईपटक गौतम निवास पुगेर भेट गरिसकेका छन् । ओली पक्षले जतिसुकै फकाए पनि यसपटक गौतम आफ्नो समुह छोडेर ओली खेमामा नपुग्ने उनका प्रेस संयोजक विश्वमणि सुवेदीले प्रष्टाएका छन् ।  सुबेदीले एक विज्ञप्तिमा भने,– ‘कामरेड वामदेव गौतम मन्त्री हुनेछन्, आन्तरिक समीकरण परिवर्तन हुनेछ भन्ने कुरा सयौं अफवाह हो ।’
 

प्रतिक्रिया दिनुहोस