सत्तारुढ ‘नेकपा’ मा फेरि सन्नाटा ! अब के होला ?

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, ०९ : ०८
सत्तारुढ  ‘नेकपा’ मा फेरि सन्नाटा ! अब के होला ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सल्लाहमै पार्टी अलग गरौं भन्ने प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग राखेपछि अहिले सत्तारुढ दल नेकपामा पार्टी के होला ? भन्ने चिन्ता थपिएको छ । नेताहरुले शनिबार दुई अध्यक्षका बीचमा भएको भेटवार्ता, त्यस अगाडीका छलफल र विवादका श्रृंखलाले थप राजनीतिलाई तरंगित मात्र बनाएको छैन, नेताहरुले सामाजिक सन्जालमा आ–आफ्नो तर्फबाट एकताको पक्षमा अभिमतहरु देखाउन थालेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली निकट नेताहरुको छलफल र सोही दिन अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यको छलफलले विवादलाई उत्र्कषमा देखाएको थियो ।  तर फेरि एकाएक सन्नाटा छाएको छ । आन्तरिक तयारीमा नेताहरु लागेका भएपनि देखिने गरी सम्वाद र छलफल दुवै अध्यक्षले खासै गरेका छैनन् । सोमबार दिनभर राजनीति सन्नाटामै बितेको देखिएको छ । नेकपाका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,– अझै केही दिन यसैगरी सन्नाटा छाउन सक्छ ।

प्रधानमन्त्री ओलीसँग अहिले अन्य नेताहरुले खास धेरै ठूला माग राखेका छैनन्–‘विकसित राजनीतिक घटनाक्रमका विषयमा पार्टी बैठक राखेर छलफल गरौं । पार्टी बैठक बोलाऔं । जे जे विषय हो, त्यही छलफल गरौं । त्यहीबाट निस्कने छलफलको निश्र्कषका आधारमा अगाडी बढौं ।’ तर प्रधानमन्त्री ओलीले बैठक बोलाउने कुरा मानेका छैनन् । उनले बैठक बोलाउने कुरामा मात्र होइन, ‘म निर्णय मान्दिन्, जे मन लाग्छ त्यही गरौं, यस्तै कचिंगलमा रहिरहने हो भने पार्टी सल्लाहमै अलग गरेर जाऔं ।’ ओलीले भनिरहेका छन् । 

आइतबार दुवै पक्षको तयारी र छलफल हेर्दा नेकपामा एक दुई दिनमै नयाँ केही भईहाल्छकी ? कुनै विषयले राजनीति भड्किहाल्छ की भन्ने अवस्था देखिन्थ्यो । तर अहिले त्यो अवस्था छैन् । अहिले कार्यकारी अध्यक्षलाई पूनः ओलीसँग सम्वाद गर्न र बैठक बस्ने वातावरण निर्माणका लागि पहल लिन नेताहरुले सुझाईरहेका छन् । ओलीलाई पनि उनी पक्षका महासचिव विष्णु पौडेल लगायतका नेताहरुको त्यस्तै दबाब छ । एक स्थायी समिति सदस्य भन्छन्, –‘एकाध दिन बैठक बोलाउने या के गर्ने ? भन्नेमा नेताहरुका बीचमा रस्साकस्सी हुनसक्छ ।

बैठक बस्यो भने त्यसबीचमा कुनै समझदारी बन्ने अवस्था आए त्यही रुपमा विवाद साँघुरो हुँदै जाला, नभए बैठकमै तेरो मेरो भन्ने अवस्था आउन सक्ला, होइन प्रधानमन्त्रीले बैठक नै बसाउन चाहनु भएन भने बहुमत पक्षधर नेताहरुले आफै बैठक बोलाएर छलफल गर्नेतिर जान सक्नुहोला । अहिले नै यसै होला भन्ने अवस्था अझै बनिसकेको देखिदैन् ।’

प्रधानमन्त्री ओलीले पटक पटक सरकार र पार्टी समेत स्वेच्छाचारितामा आफुलाई मात्रै सर्वेसर्वा ठानेर चलाउन खोज्दा नेकपामा पटक पटक विवाद देखा परिरहेको छ । विवाद बल्ल बल्ल एउटा समझदारी बनाएर टाल्ने कोसिस भएपनि फेरि हप्ता, दश दिनमै नयाँ ढंगले पूरानै विषयमा विवाद चलिहाल्छ । यो अवस्था नेकपाले विगत एक वर्ष यता भने मज्ज्ैले ब्यहोरेको छ । 
 

प्रतिक्रिया दिनुहोस