गोयल प्रकरणमा बोले नेकपाका प्रवक्ता, 'राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम भयो'

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, ०९ : ०१
गोयल प्रकरणमा बोले नेकपाका प्रवक्ता, 'राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम भयो'

काठमाडौं । भारतीय गुप्तचर सस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपालको २० घण्टे राजनीतिक भेटघाट गरेर स्वदेश फर्किसकेका छन् ।

तर नेपालमा यसको तरंग अझै कायमै छ । प्रधानमन्त्री ओलीलाई वालुवाटारमा मध्यरातसम्म गोयलले भेट गर्नु, उनका प्रेस सल्लाहकारले प्रेस नोट नै जारी गरेर भेटबारे  पुष्टि गर्नु तर प्रधानमन्त्री कार्यालयले भेटमा भएको छलफल गोप्य राख्नुले नेपालमा गोयल भ्रमण र उनको भेटघाटलाई निक्कै अर्थपूर्ण र रहस्यमय ढंगबाट लिन थालिएको छ ।

ओलीले आफ्नै सरकारी निवासमा गोयलसँग भेट गरेकोमा उनको चौतर्फी विरोध भईरहेको छ । तर ओलीका निकट नेताहरु ओलीको बचाउ कसरी गर्ने भन्नेमा जुटेका छन् । ओलीका अति विश्वासप्राप्त लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देश लिएर गोयल नेपाल आएर प्रधानमन्त्रीलाई भेट गरेको भन्दै ओलीको बचाउ गरिरहेका छन् ।

नेकपाका नेताहरुले पनि यसको पक्ष र विपक्षमा अभिब्यक्ति दिईरहेका छन् । भीम रावल लगायत नेताहरुले भेटप्रति कडा आपत्ति नै जनाईसकेका थिए ।

त्यशी क्रममा आइतबार विहानै नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफनो धारणा सामाजिक सन्जाल मार्फत नै सार्वजनिक गरेका छन् ।

उनले गोयल प्रकरण नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको पहिलो घटना भएको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने काम होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित कमजोर पार्ने कार्य हुन सक्ने टिप्पणी गरेका छन् । 

प्रवक्ता श्रेष्ठले भनेका छन्, :
केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ’र ’प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग “वार्ता “गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ । हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो । मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।

नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ? यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ  ।

प्रतिक्रिया दिनुहोस