काठमाडौं । दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३०) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो । ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो ।
पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।
दिल्ली प्रहरीको विशेष सेलले अन्य मुलुकका लागि सुराकी गरेको भन्दै पत्रकार शर्मालाई सेप्टेम्बर १४ मा पक्राउ गरेको थियो । उनीमाथि चिनियाँ जासुसहरूलाई गोप्य सूचना पुर्याएको आरोप लगाएको थियो । शर्मालाई चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई समाचार पठाउने नाममा सीमा सुरक्षासम्बन्धी संवेदनशील जानकारी दिएको आरोप लगाइएको छ । कर छल्न खोलिएका एमजेड फार्मेसी र एमजेड मल्स नामका दुई सेल कम्पनीबाट शर्मालाई समाचारको भुक्तानी हुँदै आएको प्रहरीको दाबी छ ।
दिल्ली प्रहरीका अनुसार ती दुई कम्पनीमध्ये औषधि सप्लायर्स कम्पनीका सञ्चालक बोहरा थिए । कम्पनीको सबै कारोबार दिल्लीको महिपालपुरस्थित कार्यालयबाट हुँदै आएको प्रहरीको भनाइ छ । बोहरालाई सुरुमा १४ दिन दिल्ली प्रहरी हिरासतमा राखिएको थियो । पछि अदालतको अनुमति लिएर उनलाई थप अनुसन्धानका लागि भन्दै तिहाड जेलमा राखिएको छ ।
२५ वर्षीय बोहराको खास नाम शेरबहादुर बोहरा हो । उनी कञ्चनपुर जिल्लाको लक्ष्मीपुर निवासी हुन् । पारिवारिक स्रोतका अनुसार उनी आठ वर्षदेखि दिल्लीमा बस्दै आएका थिए । उनले डेढ वर्षअघि विवाह गरेकी श्रीमती गाउँमै बस्छिन् । बोहरा पक्राउ परेको केही दिनमै उनकी श्रीमतीले छोरी जन्माएकी थिइन् । सुरुमा पर्यटकलाई गाडीमा घुमाउने गरेका उनी दुई वर्षदेखि चिनियाँ कम्पनीमा आबद्ध थिए । दिल्ली प्रहरीले उनलाई कम्पनीको निर्देशक भएको दाबी गरे पनि उनको काम सामान्य कर्मचारीको मात्र रहेको परिवारको दाबी छ ।
दिल्ली प्रहरीले पत्रकार सम्मेलन गरेर नेपाली नागरिक पक्राउ गरेको बताए पनि भारत सरकारले त्यसको औपचारिक जानकारी दिल्लीस्थित दूतावासलाई दिएको छैन । कूटनीतिक मामिलासम्बन्धी भियना अभिसन्धिअनुसार विदेशी नागरिकलाई कुनै अपराधमा पक्राउ गरिएको छ भने त्यसको जानकारी तत्काल सम्बन्धित मुलुकको दूतावास वा नियोगलाई गराउनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० असोज २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’