काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको चितवनमा सहभागी भएका ४७ जना प्रतिनिधि यसपटक विधान महाधिवशेनमा सहभागी हुने छैनन ।
एमालेले पार्टीको दशौं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले मात्र विधान महाधिवशेनमा भाग लिन पाउने विधानको ब्यवस्था अनुसार नै प्रतिनिधि ठोस गरेपछि चितवन महाधिवेशनका ४७ नेता यसपटक विधान महाधिवेशनमा देखा नपर्ने भएका हुन् ।
‘केहीले पार्टी छोडेको, केहीको निधन भएको, कोही जेलमा रहेका कारण चितवनमा सहभागी भएका ४७ नेता (प्रतिनिधि) विधान महाधिवेशनमा सहभागी हुनेछैनन,’ एमाले प्रचार विभागका एक सदस्यले सफलखबरसँग भने ।
एमालेको चितवनमा २१ सय ७५ जना महाधिवेशन प्रतिनिधि थिए । यसपटक विधान महाधिवशेनमा त्यसमध्येबाट २१ सय २८ जना मात्रै सहभागी हुने एमालेले जनाएको छ । यसमध्ये अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गरेका भीम रावल एमालेको विधान महाधिवेशनमा सहभागी हुने छैनन ।
उनलाई एमालेले पार्टी छोडन बाध्य बनाएको छ । रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेर त्यसबेला २२३ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका र अहिले पार्टी छोडेर नेकपा एकीकृत समाजवादीका महासचिव भएका घनश्याम भुसाल पनि यसपटक एमाले विधान महाधिवेशनमा सहभागी हुने छैनन ।
चितवनमा २०७८ मा सम्पन्न एमालेको दशौं महाधिवशेनमा घनश्याम भुसाल उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले ७२५ मत पाएका थिए । त्यसवेला १७ सय मत ल्याएर सचिव पदमा चुनाव जितेका टोपवादुर रायमाझी पनि यसपटक विधान महाधिवेशनमा सहभागी हुने छैनन । उनी भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अहिले केन्द्रीय कारागारमा बन्दी जीवन विताईरहेका छन् । उनी सांसद र एमाले सचिव दुवैबाट अहिले निलम्बित अवस्थामा छन् । त्यस्तै १८४५ मत ल्याएर चितवन महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका सुवास नेम्वाङको निधन भईसकेको छ ।
‘पार्टी छोडेका, निधन भएका र निलम्बनमा परेकाहरुको यस्तो संख्या ४७ छ, अघिल्लो चितवनमा सहभागी भएका मध्ये ४७ जना यसपटक विधान महाधिवेशनमा सहभागी हुनेछैनन,’ एमाले प्रचार विभागका ती सदस्यले भने, ‘थप बरु २६४ जना प्रतिनिधि विधान महाधिवेशनमा सहभागी हुन्छन् ।’
चितवन महाधिवेशन भन्दा यसपटक एमालेले २१७ जना बढी महाधिवेशन प्रतिनिधिलाई विधान महाधिवेशनमा सहभागी गराउन लागेको छ । तर त्यसमध्येका २६४ जना प्रतिनिधि सहभागी भएपनि उनीहरुलाई मतदानको अधिकार भने नदिने एमालेले जनाएको छ । ‘उनीहरुलाई प्रतिनिधि नै भनिएपनि खासमा पर्यवेक्षकको भूमिकामा रहेजस्तो मात्र हुने गरी सहभागी गराइँदैछ,’ एमाले प्रचार विभागका ती सदस्यले भने, ‘अघिल्लो महाधिवेशनमा सहभागी भएका बाहेक अन्यलाई प्रतिनिधी बन्न विधानले नै रोकेको तर त्यसमध्ये कतिपय पार्टी प्रवेश गरेर आएका र पार्टीको केन्द्रीय जिम्मेवारीमै रहेकाले पनि सहभागी हुन पाउने तर मतदान अधिकार नदिने गरी ब्यवस्था मिलाउन लागिएको हो ।’
एमाले संगठन विभाग प्रमुख समेत रहेका स्थायी समिति सदस्य काशीनाथ अधिकारीका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनमा सहभागी भएका प्रतिनिधि बाहेक अरु एकता प्रक्रियाबाट आएका र पछि मनोनीत भएकाहरू विधान महाधिवेशनमा सहभागी हुन पाए पनि मतदान प्रक्रियामा भाग लिन नपाउने गरी सहभागी गराउन लागिएको छ ।
‘विधान महाधिवेशनमा २१२८ प्रतिनिधि हुन्छन् । उनीहरूले मात्र मत दिन पाउनेछन्,’ अधिकारी भन्छन्, ‘दसौँ महाधिवेशनमा निर्वाचित ३०१ सदस्यले पाउनुभयो, तर एकता र मनोनीत भएर आएका ४१ जना, सल्लाहकार, आयोजक र सहभागी समेत महाधिवेशन हलभित्र २३९२ जना आयोजकका हिसाबले सहभागी हुन पाए पनि कुलमा २६४ जनाले मत दिन पाउनुहुन्न ।’
प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पनि पार्टीको निर्णयका आधारमा केही नेताहरुले विधान महाधिवेशनको बन्दसत्रमा सहभागी भएपनि मत भने दिन नपाउने निर्णय भएको बताए ।
यसरी मत दिन नपाउनेमा मुकुन्द न्यौपाने सहितका नेताहरु छन् । त्यस्ता नेताहरुका प्रेमबहादुर सिंह , ठम्मरबहादुर विष्ट, जितेन्द्रनारायण देव , जीवन गौतम, सुभाष कर्माचार्य, कुन्दन कुसवाह लगायतका नेता छन् । उनीहरुलाई एमालेले पार्टीको केन्द्य्रीय समिति सदस्यमा मनोनित गरेपनि उनीहरु चितवन महाधिवेशनमा प्रतिनिधि नरहेकोले विद्यान महाधिवेशनमा मतदानको अधिकारबाट भने वन्चित हुनेछन् ।
‘मुकुन्द न्यौपानेसहित २६४ जनाले मतदान प्रक्रियामा भाग लिन पाउनुहुन्न । विद्यमान व्यवस्था त्यही हो, यताउता हुँदैन,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् ।
पुष्पलाल, मदन र मनमोहनको तस्विर गायव, ओलीलाई मात्रै ब्राण्डिङ
त्यसोत एमालेले विद्यान महाधिवेशनको प्रचारका लागि सार्वजनिक गरेको पोष्टर तस्विरमा यसपटक कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी र एमालेको पहिलो ९ महिने सरकारको कार्यकालमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको तस्विर हटाइएको छ । प्रधानमन्त्री समेत रहेका केपी ओलीको मात्र तस्विर राखेर ओलीलाई एमालेले ब्राण्डिङ गरेको छ ।
एमालेमा यस अगाडी हरेक पोष्टरमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तिस्वर राखेर छापिने गरिएको थियो । हुन त एमालेले पार्टी अध्यक्षको मात्र तस्विर छाप्ने निर्णय दुई वर्ष अगाडी नै गरेको थियो । तर मदन भण्डारी, पुष्पलाल र मनमोहन अधिकारीको तस्विर हटाउने र पार्टी अध्यक्षको रुपमा केपी ओलीको मात्र तस्विर छापेर ओलीलाई अग्लो बनाउने निर्णयमा पार्टी तहमा चर्काे असन्तुष्टि र आक्रोश थियो । जसकाकारण एमलेले यो निर्णय कार्यान्वयन गराउन सकिरहेको थिएन ।
अहिले मदन भण्डारी पत्नी पूर्व राष्टपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने निर्णय गरेपछि ओलीकै अग्रसरतामा उनको पार्टी सदस्यता नविकरण नै रोकेका ओलीले यसैपटक प्रचार विभागमार्फत पूर्वज तीन नेताहरुको तस्विर पनि हटाएर आफनो मात्र राख्न लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
ओलीको प्रस्ताव परस्परविरोधी र संगतिपूर्ण नरहेको भन्दै केन्द्रीय समितिमा आलोचना
एमाले केन्द्रीय कमिटी बैठक : आज पनि नेताहरूले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
कांग्रेस एमालेलाई बाहिर राखेर मधेसमा लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने