एएफपी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रवार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उनको परिवारलाई परेको ठूलो दबाब हटाएको छ ।
थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकराबमा रहँदै आएको छ । यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् ।
सधैँ राज्यसत्ता कब्जाको सघर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको कथामा प्रस्ट देखिएको छ ।छयत्तर वर्षीय थाक्सिनलाई राजा महा भाजिरालोंगकोर्न र उनको परिवारविरुद्ध आलोचना गर्ने कानुनअनुसार १५ वर्षसम्म कैद हुन सक्थ्यो । तर दुई महिनाभन्दा बढी चलेको सुनुवाइपछि उनी निर्दोष ठहर भए ।
उनका वकिल विन्यात च्याटमन्ट्रीले बैंककस्थित फौजदारी अदालतमा पत्रकारलाई भने, “अदालतले प्रमाण पर्याप्त नभएको ठहर गर्दै आरोप खारेज गर्यो ।”तर उनको परिवार अझै संकटमा छ । उनकी छोरी पेटोङ्टार्न सिनावात्रा हाल प्रधानमन्त्रीको पदबाट निलम्बनमा छिन् । उनले अर्को हप्ताको अदालतको फैसला पछि पद गुमाउनु पर्ने सम्भावना छ ।
अदालतबाट मुस्कुराउँदै निस्केका थाक्सिनले पत्रकारलाई छोटकरीमा भने, “मामिला खारेज भयो ।” उनको समर्थनमा करिब एक सय ५० मानिस भेला भएका थिए । तीमध्ये ६६ वर्षीय खाना विक्रेता कमल ओराहन्तले भने, “अदालतले राम्रो काम गर्यो । तर उहाँलाई अन्य तरिकाले परास्त गर्न खोज्ने केही विरोधीहरू अझै छन् भन्ने मलाई लाग्छ ।”
यो मुद्दा थाक्सिनले दशकौँ अघि दक्षिण कोरियाली मिडियामा दिनुभएको टिप्पणीबाट सुरु भएको हो । ती टिप्पणी उनले आफ्नी बहिनी यिङलकलाई सन् २०१४ मा अपदस्थ गर्ने सैन्य कूसँग जोडिएका थिए ।
लेज–माजेस्टे कानुन यति कडा भएकाले, एएफपीले थाक्सिनका ती भनाइहरू उद्धृत गरेर रिपोर्ट गर्न सकेको छैन, किनभने त्यसो गर्दा आफैँमा आपराधिक आरोप लाग्न सक्छ ।
वर्षौंको संघर्ष
सन् २००० को दशकमा दुई पटक प्रधानमन्त्री बनेका थाक्सिन सैन्य कूपछि अपदस्थ हुनुभयो र करिब १५ वर्ष निर्वासनमा बसे। अन्ततः सन् २०२३ अगस्टमा उनी थाइल्यान्ड फर्किए।
उनी फर्किएको दिन नै उनको परिवारको फेउ थाई पार्टीले पुराना विरोधीहरूसँग मिलेर गठबन्धन सरकार गठन गरेको थियो । यसलाई धेरैले गुप्त सम्झौतासँग जोडेर हेरेका थिए ।
थाक्सिन फर्किए लगत्तै भ्रष्टाचार र पदको दुरुपयोगका मुद्दामा उनलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा राख्नुको सट्टा स्वास्थ्य समस्याका कारण उनलाई प्रहरी अस्पतालको निजी कोठामा राखियो ।
छिट्टै राजाले सजाय घटाएर एक वर्षमा पुर्याए । त्यसपछि वृद्ध कैदीहरूको प्रारम्भिक रिहाइ कार्यक्रममा सन् २०२४ फेब्रुअरीमा उहाँ स्वतन्त्र भए ।
तर यसरी छुटेका कारण अब अर्को कानुनी विवाद चर्किएको छ । आलोचकहरूले उनी जेलको कोठरीमा कहिल्यै नबसेको र छिट्टै छुट्न योग्य नभएको दाबी गरेका छन् । यो मुद्दा सेप्टेम्बर ९ मा टुंगिनेछ ।
थाइल्यान्डमा लेज–माजेस्टे कानुनलाई आपराधिक संहितामा धारा ११२ भनिन्छ । विशेष गरी सन् २०२० को सरकार विरोधी आन्दोलनपछि यसअन्तर्गत मुद्दा दर्ता तीव्र रूपमा बढेका छन् । केही प्रदर्शनकारीहरूले राजतन्त्रको खुलेर आलोचना गरेका थिए ।
थाई मानव अधिकार वकिलहरूको समूहका अनुसार विगत पाँच वर्षमा मात्रै धारा ११२ अन्तर्गत दुई सय ८० भन्दा बढी व्यक्तिमाथि मुद्दा दायर भएको छ ।
यस कानुनअनुसार राजा, रानी, उत्तराधिकारी वा राजप्रतिनिधिलाई अपमान गर्ने, बदनाम गर्ने वा धम्की दिने जो कोहीलाई १५ वर्षसम्म कैद हुनसक्छ ।
मानव अधिकार समूह र आलोचकहरूका अनुसार यो कानुनलाई अहिले यति व्यापक रूपमा प्रयोग गरिएको छ कि असहमति र वैध बहसलाई दबाउने हतियार बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना
थाइल्यान्ड-कम्बोडिया सैन्य झडपमा १२ जनाको मृत्यु
थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित
बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्कालीन अवतरण
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या