काठमाडौं । भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको आलोचना अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको वक्तव्यमा संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा भारतप्रति गरिएको निशानालाई ‘अनुचित र अविवेकपूर्ण’ भन्दै निन्दा गरेको छ ।
वक्तव्यमा भनिएको छ, ‘भारतले रूसबाट तेल आयात युक्रेन द्वन्द्वपछि मात्रै सुरु गरेको हो, त्यो पनि परम्परागत आपूर्तिहरू युरोपतिर मोडिएपछि। त्यतिबेला त संयुक्त राज्य अमेरिका स्वयंले भारतलाई यस्तो आयात गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व ऊर्जा बजारमा स्थायित्व रहोस् ।’
भारतले आफ्नो तेल आयातलाई भारतीय उपभोक्ताका लागि पूर्वानुमान गर्न मिल्ने र सुलभ मूल्य सुनिश्चित गर्ने उपायको रूपमा देखाएको छ । वक्तव्यमा भनिएको छ, ‘भारतको यस्तो आयात आवश्यकताले प्रेरित भएको हो । तर भारतबारे आलोचना गर्ने थुप्रै मुलुकहरू आफैँ रूससँग व्यापार गरिरहेका छन् । ती मुलुकहरूको रूससँगको व्यापार कुनै पनि राष्ट्रिय अनिवार्यताको कारण भएको छैन।’
भारतको तुलनामा युरोपेली संघले सन् २०२४ मा रूससँग ६७.५ अर्ब युरोको वस्तु व्यापार गरेको तथा २०२३ मा १७.२ अर्ब युरो बराबरको सेवा व्यापार गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । यो भारतको कुल व्यापारभन्दा धेरै भएको तथ्य पनि वक्तव्यमा प्रस्तुत गरिएको छ।
युरोपले सन् २०२४ मा रूसबाट १६.५ मिलियन टन एलएनजी आयात गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ, जुन सन् २०२२ को कीर्तिमानभन्दा पनि बढी हो।
त्यस्तै, युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खानीजन्य पदार्थ, रसायन, फलाम र स्टिल तथा मेसिनरी र यातायात उपकरणहरू पनि समावेश भएको भारतले जनाएको छ ।
संयुक्त राज्य अमेरिका स्वयम्ले पनि आफ्ना आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनका लागि प्यालाडियम, मल र रसायनहरू रूसबाट आयात गरिरहेको भारतले स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा