एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, ११ : १२
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन् ।

सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको र यसबारे सरकारले गम्भीर रूपमा अनुसन्धान गर्ने भन्दै एमालेबाट मन्त्री भएकाहरूलाई राजीनामा नबुझाउन भनिएको छ ।

मङ्गलबार खबरहबले एमालेका एक मन्त्रीलाई तपाईँहरूले राजीनामा दिनुहुन्न भनेर सोधेको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले आफूहरूलाई पदबाट राजीनामा नदिन भनेको बताएका छन् ।

‘यसको उच्चस्तरीय छानबिन समिति बनिसक्ने भनिएको छ तपाईँहरू नडराउनुहोस् अहिले आत्तिएर पदबाट राजीनामा दिनु पर्दैन’, प्रधानमन्त्री ओलीले भनेका थिए, काङ्ग्रेसले र अरूले के गरे भनेर तपाईँहरू आत्तिनु पर्दैन । जेन–जी आन्दोलनमा घुसपैठ भएको हो यसलाई छानबिन गर्नुपर्छ।’

ती मन्त्रीका अनुसार अहिलेसम्म एमालेबाट मन्त्री भएका कसैले पनि राजीनामा दिने तयारी गरेका छैनन् ।

तर कांग्रेसबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखकले सोमबार नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका छन् । यता मङ्गलबार कृषिमन्त्री रामनाथ अधिकारीले समेत राजीनामा दिएका छन् ।

मङ्गलबारै स्वास्थ्यमन्त्री प्रदीप पौडेल र पर्यटनमन्त्री बद्री पाण्डेले पनि राजीनामा दिने चर्चा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस