ओली र प्रचण्ड बिच बालुवाटारमा आज पनि भेटघाट

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १० : १६
ओली र प्रचण्ड बिच बालुवाटारमा आज पनि भेटघाट

काठमाडौं । प्रधानमन्त्री एवमं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेर पछि दुई अध्यक्ष ओली र प्रचण्डका बीचमा भेटवार्ता हुन लागेको हो । 

हिजो पनि दुई अध्यक्षले महासचिव विष्णु पौडेललाई सँगै राखेर छलफल गरेका थिए । त्यसपछि उनीहरुले साउन १३ देखि अवरुद्ध भएको पार्टीको स्थायी समिति बैठक शुक्रबार (भदौं २६) गतेका लागि बोलाउने निर्णय लिएका थिए । 

बैठकमा दुई अध्यक्षले पेश गर्ने साझा प्रस्ताव तयार पार्नुपर्ने छ । पार्टीभित्रको विवाद सल्टाउन गठन गरिएको समस्या समाधान सुझाव कार्यदलले भदौं ६ मा दुई अध्यक्षलाई बुझाएको प्रतिवेदन, प्रतिवेदनमाथी भदौं १८ मा वरिष्ठ नेता माधव नेपाल लगायत सचिवालयका सदस्यहरुले राखेका सुझाव र स्थायी समितिका एजेण्डामा केन्द्रीत रहेर दुई अध्यक्षले साझा प्रस्ताव तयार पार्ने जिम्मेवारी सचिवालयले दिएको छ । 

सोही जिम्मेवारी अनुसार ओली र दाहालले आजको भेटमा विषय केन्द्रीत छलफल गरि साझा प्रस्ताव तयार पार्ने गृहकार्य गर्नेछन् । दुई अध्यक्षका बीचमा साझा प्रस्ताव तयार भएपछि त्यसलाई पून सचिवालयमा छलफल गराउने र स्थायी समिति बैठकमा लैजाने तयारी नेकपाको छ । 

यो स्थायी समिति बैठक पछि पार्टीका दुई अध्यक्षको प्रष्ट कार्यविभाजन, राजनीतिक तथा सम्वैधानिक नियुक्तिका विषय देखि संघ र प्रदेशका मन्त्रीमण्डल हेरफेर सम्मका विषयमा पनि नेताद्धयले मापदण्ड बनाउने काम गर्ने र त्यसैका आधारमा स्थायी समिति बैठक पछि मन्त्रीमण्डल हेरफेर गर्ने तयारी भएको छ । यस अर्थमा पनि ओली र प्रचण्ड बीचको छलफल अर्थपूर्ण हुने बताईएको छ ।

नेकपामा असार १० देखि स्थायी समिति बैठक जारी छ । असार १६ मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन नेताहरुले माग गरेपछि विवाद उत्र्कषमा थियो । झण्डै झण्डै पार्टी नै विभाजनको अवस्थामा पुगेको थियो । 

अहिले कार्यदल गठन र कार्यदलले दिएको रिपोर्ट पछि भने पार्टीभित्रको विवाद महाधिवेशनमा केन्द्रीत गर्ने गरी अस्थायी युद्धविराम नेकपाभित्र भएको छ । तर स्थायी समितिमा दुई अध्यक्षले लैजाने प्रस्तावले पनि विवादका विषय समाधान उन्मुख भएर जाने नजाने निक्र्यौल गर्ने पनि नेताहरुको भनाई छ ।