काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएका छन् ।
शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको पनि बताए ।
उनले भने, ‘२–४ दिन हेरौँ न, २० गते त आउन लागिहाल्यो । अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन ।’
अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भने, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि बाहिर आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उनले भने, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो त्यही अनुसार चल्नुपर्छ ।’
युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्नभएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए । तर, मुख्यरुपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका लागि मन्त्रिपरिषद्को हिसावमा, अन्य पक्षहरु पनि केलाएर समग्रता हेरेर निष्कर्ष निकाल्ने बताए ।
फागुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडाले सङ्घीय संसदको सदस्य नरहे अब भदौ २० सम्ममात्रै काम गर्न पाउँछन् । संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ ।
सो व्यवस्था अनुसार उनलाई निरन्तरता दिने या नदिने भन्नेमा अन्योलता रहेकै बेला ओलीले यस्तो बताएका हुन् । उनलाई मन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको रिक्त रहेको सदस्यमा मन्त्रिपरिषद्ले सिफारिस गर्नुपर्नेछ । यसबारे सचिवालयको भदौ १८ गतेको बैठकबाट निष्कर्ष निष्किने विश्वास लिइएको छ ।
यद्यपी ओलीले उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा नजाने निश्चित भएकाले खतिवडा नै जानसक्ने सभावनालाई बल पुग्नेगरी अभिव्यक्ति दिएका छन् । उपाध्यक्ष बामदेव गौतमलाई विशेष जिम्मेवारी दिँदै हुनुहुन्छ भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले पार्टीले यस्तो कुनै निर्णय नगरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ भदौ २०७७, ०६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली