एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०८३, ०८ : ५१
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?

काठमाडौं । प्राय सार्वजनिक कार्यक्रममा नदेखिने र नबोलिने प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) र पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गत प्रतिनिधिसभा चुनावमा झापा ५ बाट चुनाव लडेका थिए ।

ओलीलाई भारी मतले पराजित गदै बालेन निर्वाचित मात्रै भएनन, उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा दल नेताको हैसियतमा प्रधानमन्त्री समेत छन् । गत वर्ष ओली कांग्रेससहितको समर्थनमा सरकारको नेतृत्व गरिरहँदा मुलुकमा जेनजी विद्रोह भएको थियो । यो विद्रोहको पर्दा पछाडी बसेर तत्कालिन काठमाडौंका मेयर र हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भूमिका खेलेको आरोप ओलीले बालेनमाथी लगाईरहेका छन् । 

त्यसबेला ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै राजीनामा दिएर सेनाको हेलिकप्टर प्रयोग गरेर हेटौडाको सुपारीटारस्थित ब्यारेकमा सुरक्षित बस्न पुगेका थिए । पछि संसद विघटन भयो, अन्तरिम चुनावी सरकार बन्यो, फागुन २१ मा चुनाव भयो, ओली र बालेन एउटै निर्वाचन क्षेत्रमा आमने सामने भए । 

ओलीले उम्मेदवारहरुका बीचमा सार्वजनिक बहसको माग समेत गरे । तर बालेनले भदौं २३ र २४ को घटनाका ‘हत्यारा’सँग वार्ता हुन नसक्ने भन्दै सार्वजनिक डिवेडमा बस्न मानेनन । ओली पराजित भए, बालेन निर्वाचित भएर अहिले प्रधानमन्त्री छन् । 

यी दुई नेताका बीचमा भेटवार्ता छैन । एकै मञ्च सेयर गर्न नसक्ने बताएका प्रधानमन्त्री बालेनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिले एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी ओलीलाई पार्टीको महाधिवेशनमा निम्तो पठाएको छ ।

अहिलेसम्मको रास्वपाको कार्यतालिका अनुसार, असार ७ गते चितवनको भरतपुर महानगरपालिका– १० स्थित गेस्टहाउस चौरमा उद्घाटन हुने रास्वपाको महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बालेन शाहले पार्टीका तर्फबाट सम्वोधन गर्ने कार्यतालिका बनेको छ ।

उक्त महाधिवेशनको उद्घाटनका लागि रास्वपाले अन्य राजनीतिक दलका सभापति-अध्यक्षलाई पनि शुभकामना दिनका लागि निम्तो पठाएको छ । यसरी निम्तो पाउनेमा एमाले अध्यक्ष केपी ओली समेत छन् । 

बालेन र रविले सम्वोधन गर्ने रास्वपा महाधिवेशनमा ओलीलाई समेत निम्तो गएपछि के ओली र बालेन एकै मञ्च सेयर गर्लान् ? अहिले चासोका साथ हेरिएको छ । रास्वपाले उदेघाटन शत्रमा शुभकामनाका लागि कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन आमन्त्रण गरेको छ ।

‘हामीले अन्य राजनीतिक दलका पार्टी नेतृत्वलाई शुभकामना मन्तब्यका लागि विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरेका छौं । उहाँहरुलाई सूचित भइसक्यो । पत्र पठाएका छौँ । केहीको कन्फर्मेसन आइसकेको छ,’ रास्वपा महाधिवेशनको तीव्र तयारीमा जुटेका महामन्त्री कविन्द्र बुर्लाकोटीले सफलखबरसँग भने । उनका अनुसार एमाले अध्यक्ष ओलीलाई पनि विशिष्ट अतिथिका रुपमा शुभकामना मन्तब्य दिनका लागि आमन्त्रण पत्र पठाइएको छ ।

ओलीले रास्वपा महाधिवेशनमा आफैं जाने वा प्रतिनिधि पठाउँछन्, त्यो प्रष्ट भईसकेको छैन । तर पनि ओली र बालेनले एकै मञ्च शेयर गर्लान् ? भन्ने विषयमा भने आम चासोका साथ हेरिएको छ । रास्वपा महाधिवेशन ७ देखि ९ असारसम्म चितवनमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस