काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले तत्काल नभएर जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्– 'आज– ठीक अठार वर्षअघि हामी नेपालीले आफैँले निर्वाचित गरेको संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन हो। जनताले आफ्ना लागि आफैँले शासनप्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न सात दशक भन्दा लामो संघर्ष गर्नु पर्यो। बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्ने क्रममा हजारौँ अग्रजहरूले जीउज्यान अर्पण गर्नु पर्यो। कयौंले दशकौं लामो जेलनेल, यातना र निर्वासन समेत भोग्नु पर्यो। जनताको धेरै ठूलो संघर्ष र बलिदानपछि हुकुमबाट चल्ने प्रणाली फ्याँकियो, कानुनबाट चल्ने प्रणाली स्थापना भयो । व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा, लोकतान्त्रिक अङ्ग र संरचनाहरूबाट सञ्चालन हुने पद्धति सुरू भयो।'
गणतान्त्रिक प्रणालीको लामो अभ्यास भएका मुलुकहरूको तुलनामा नेपालले छोटो समय मात्रै त्यसको अभ्यास गरेका छौें उनले बताए । उनी भन्छन्– 'यो छोटो समयमा गणतान्त्रिक संस्कार, संस्थागत संरचना र तदनुरूप जनताको सेवा गर्ने सामर्थ्य विकास गर्नु अवश्य पनि सजिलो काम होइन।तर पनि यस बीचमा सामाजिक र भौतिक विकासमा ठूलो मात्रा र गुणमा विकास भएको तथ्यांक छ। '
'गणतन्त्र-शासन प्रणाली परिवर्तनको मात्रै विषय थिएन, यो नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण पनि थियो। शताब्दीयौँसम्म 'प्रजा' भएर बाँचेको समाज, आफैँले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो। परिवर्तित अभ्यासमा परिपक्वता आउन अवश्य पनि लामो समय लाग्छ, हामीले पनि त्यस्तै अनुभव गरेका छौं', सन्देशमा ओलीले भनेका छन् ।
उनी भन्छन्– 'आज गाउँगाउँमा पुगेको स्थानीय सरकार र राज्यको साधनस्रोत, राज्यका हरेक तहमा बढेको महिला, दलित, जनजाति, मधेशी र पिछडिएको समुदायको प्रतिनिधित्व र सहभागिता, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, सेवामा डिजिटल पहुँच, सडक र सञ्चारको विस्तार- यी सबै परिवर्तन आकस्मिक रूपमा आएका होइनन्। यी सबै गणतन्त्रका उपलब्धि हुन् । यद्यपि परिवर्तनको गति हामीले चाहेजति तीब्र हुन सकेको छैन। त्यस्तो गति सामाजिक चेतनामा भर पर्छ। चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ। त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो।'
जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहने उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी