काठमाडौं । विपक्षी दल नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक आज बस्दैछ। बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतसँग मंगलबार (हिजो) लामो छलफल गरेका छन्।
पार्टीभित्र पछिल्लो समय ओलीको पक्षमा दृढ रूपमा उभिएका नेतामध्ये बादल र बस्नेत अग्रपंक्तिमा छन्। अध्यक्ष ओलीका निकट मानिने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समेत अब ओलीलाई ‘अभिभावकीय’ भूमिकामा राखेर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा व्यक्त गर्न थालेपछि बादल र बस्नेत ओलीको पक्षमा अझ सक्रिय देखिएका छन्।
एमाले सचिवालयभित्र भने अवस्था फरक छ। केही सीमित नेता तटस्थ देखिए पनि अधिकांश सचिवालय सदस्य पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। अध्यक्ष ओलीलाई लामो समय साथ दिँदै आएका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसमेत पछिल्लो सचिवालय बैठकमा ओलीसँग पटक–पटक मतभेदमा देखिएका थिए। यही दबाबका कारण ओली अन्ततः पुनर्गठनसम्बन्धी कार्यदल गठन गर्न सहमत भएको नेताहरूको बुझाइ छ।
गत जेठ १० गते सचिवालय बैठकले एक महिनाभित्र सुझावसहितको प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पेश गर्ने जिम्मेवारीसहित कार्यदल गठन गर्ने निर्णय गरेको थियो। निर्णय भएको १५ दिनपछि आज (बुधबार) पहिलोपटक कार्यदलको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ।
पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्यसहित पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। १६ सदस्यीय कार्यदलको नेतृत्व बादलले गरिरहेका छन्। सदस्यहरूमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा आठवटै प्रदेशका इन्चार्जहरू रहेका छन्।
यद्यपि कार्यदलभित्र पनि ओली पक्ष स्पष्ट अल्पमतमा रहेको दाबी ओलीइतर नेताहरूको छ। उनीहरूको बुझाइमा कार्यदलको प्रतिवेदन निर्माणकै क्रममा बादललाई कम्तीमा तटस्थ बनाएर प्रतिवेदन लेखाउन सकिए अध्यक्ष ओलीमाथि केन्द्रीय समितिबाट थप दबाब सिर्जना गर्न सकिन्छ। त्यसले पार्टी पुनर्गठनको बहसलाई संस्थागत रूपमा अगाडि बढाउने उनीहरूको अपेक्षा छ।
उता ओली पक्षले भने प्रतिवेदन निर्माणको प्रक्रियामार्फत ओलीइतर नेताहरूबीच मतभेद उत्पन्न गराउने प्रयास थालेको छ । त्यसैले कार्यदलको प्रतिवेदन तयार गर्ने प्रक्रिया केवल संगठनात्मक अभ्यासमा सीमित नरही एमालेभित्रको शक्ति सन्तुलन निर्धारण गर्ने राजनीतिक मैदानका रूपमा समेत हेरिएको छ। यससँगै ‘ओलीसहितको एमाले’ कि ‘ओलीरहितको एमाले’ भन्ने बहस सचिवालयबाट सरेर अब पुनर्गठन कार्यदलभित्र प्रवेश गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो