नेकपामा बल्झिँदै एमसिसी

पत्रपत्रिकाबाट

आइतबार, ११ जेठ २०७७, ०७ : ३९
नेकपामा बल्झिँदै एमसिसी

फाईल फोटो

काठमाडौं । सत्तारुढ नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विवाद बढेको छ। आगामी आर्थिक वर्षको बजेट, एमसिसीलगायत विषयमा छलफल गर्न शनिबार बोलाइएको सचिवालय बैठकमा एमसिसी जस्ताको तस्तै संसद्बाट पारित गर्ने विषयमा सहमति बन्न सकेन।

बैठकमा स्थायी कमिटीका केही सदस्यलाई पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो। बैठकमा आमन्त्रित सदस्यहरुले पनि यथास्थितिमा एमसिसी पास नगराउन नेतृत्वलाई सुझाव दिए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एमसिसी जस्ताको तस्तै पास गराउने पक्षमा छन्। सचिवालय सदस्य झलनाथ खनाललगायत स्थायी कमिटीका केही सदस्य यथास्थितिमा एमसिसी पास गराउन नहुने पक्षमा छन्। यसले गर्दा विवाद चुलिने देखिएको छ।  

एमसिसी सहमति जुटाउन सचिवालय बैठक डाकिएको भए पनि प्रधानमन्त्री एव अध्यक्ष ओली सहभागी भएनन्। एमसिसीमा सहमति जुट्न नसक्ने देखेपछि ओली बैठकमा सहभागी नभएको स्रोतको दाबी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले ल्याउने बजेट र एमसिसी परियोजनाबारे छलफल भयो।

बैठक बस्नुअघि सचिवालयका सदस्यले स्थायी कमिटीका सदस्य भीमबहादुर रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, देवप्रसाद गुरुङ, अर्थमन्त्री युवराज खतिवडा, एमसिसी नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टसँग सो परियोजनाबारे छलफल गरेका थिए  

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको बैठक अनौपचारिक भएको बताए। ‘बैठक अनौपचारिक छलफल मात्रै हो, एमसिसी, बजेटलगायत विषयमा छलफल भएको छ,’ पार्टी प्रवक्ता श्रेष्ठले भने,‘ एमसिसीका विषयमा कार्यदलमा रहेका साथीहरुले आफ्नो धारणा राख्नुभएको छ।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस