काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी बजेटमा कृषि क्षेत्रका लागि अघिल्ला वर्षहरुभन्दा बजेट बढाइने बताउनुभएको छ ।
नेपाल उद्योग परिसङ्घले सोमबार गरेको वेभिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाइने बताउनुभयो । महामारीका कारण यो क्षेत्रमा संकट देखिएको र त्यसको समाधानका लागि पनि यही क्षेत्रबाट खोजिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको यस क्षेत्रको ६० प्रतिशत जनसङ्ख्या आबद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत बजेट पर्याप्त नहुने उहाँले बताउनुभयो । महामारीका कारण सम्भावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको उहाँले औँल्याउनुभयो ।
मन्त्री भुसालले तत्कालीन समस्या मात्रै नभएर कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि नै मन्त्रालयले ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ को कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले अपहेलित भएर बस्नुपर्ने तत्कालीन अवस्थाबाट मुक्त हुँदै कृषि क्षेत्रमा लगानी बढाउने अवसरसमेत अहिले तयार भएको छ ।” उत्पादन, भण्डारण र बजारीकरणको संयन्त्र सबै स्थानीय तहसम्म लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो । कृषि उत्पादन बढाउन स्थानीय सरकारलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।
यस क्षेत्रको यान्त्रीकरणका लागि सरकारले वस्तुगत तथ्यका आधारमा योजना ल्याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ““पहिले हामीलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।”
यो महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने र अहिले ३० प्रतिशत पहाडी जमिन बाँझो भएको उहाँले बताउनुभयो । सरकारले समेत कृषि क्षेत्रमा लगानी सुनिश्चित गर्ने कार्यक्रम ल्याएको र निजी क्षेत्रले लगानी गर्ने राम्रो अवसर भएको उहाँले बताउनुभयो । महामारीकै कारण सिर्जित समस्या हल गर्न सकिएन भने यो अवसर नभएर चुनौती मात्रै रहने पनि मन्त्री भुसालले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कृषि क्षेत्र उकास्न तयार रहेको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ जेठ २०७७, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल