कृषिमा बजेट बढाइने

रासस

मंगलबार, ०६ जेठ २०७७, २० : ४५
कृषिमा बजेट बढाइने

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी बजेटमा कृषि क्षेत्रका लागि अघिल्ला वर्षहरुभन्दा बजेट बढाइने बताउनुभएको छ । 

नेपाल उद्योग परिसङ्घले सोमबार गरेको वेभिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाइने बताउनुभयो । महामारीका कारण यो क्षेत्रमा संकट देखिएको र त्यसको समाधानका लागि पनि यही क्षेत्रबाट खोजिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको यस क्षेत्रको ६० प्रतिशत जनसङ्ख्या आबद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत बजेट पर्याप्त नहुने उहाँले बताउनुभयो । महामारीका कारण सम्भावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको उहाँले औँल्याउनुभयो ।

 मन्त्री भुसालले तत्कालीन समस्या मात्रै नभएर कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि नै मन्त्रालयले ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ को कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले अपहेलित भएर बस्नुपर्ने तत्कालीन अवस्थाबाट मुक्त हुँदै कृषि क्षेत्रमा लगानी बढाउने अवसरसमेत अहिले तयार भएको छ ।” उत्पादन, भण्डारण र बजारीकरणको संयन्त्र सबै स्थानीय तहसम्म लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो । कृषि उत्पादन बढाउन स्थानीय सरकारलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । 

यस क्षेत्रको यान्त्रीकरणका लागि सरकारले वस्तुगत तथ्यका आधारमा योजना ल्याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ““पहिले हामीलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।”

यो महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने र अहिले ३० प्रतिशत पहाडी जमिन बाँझो भएको उहाँले बताउनुभयो । सरकारले समेत कृषि क्षेत्रमा लगानी सुनिश्चित गर्ने कार्यक्रम ल्याएको र निजी क्षेत्रले लगानी गर्ने राम्रो अवसर भएको उहाँले बताउनुभयो । महामारीकै कारण सिर्जित समस्या हल गर्न सकिएन भने यो अवसर नभएर चुनौती मात्रै रहने पनि मन्त्री भुसालले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कृषि क्षेत्र उकास्न तयार रहेको छ ।”

प्रतिक्रिया दिनुहोस