ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०८२, १० : ४०
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल

काठमाडौँ । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताए । 

अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र संसद विघटन भएसँगै सुशीला कार्कीको अन्तरिम सरकार बनेको थियो । अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् । 

नेकपा एमालेले संसद पुनःस्थापनको एजेण्डा अघि सारेको छ भने नेपाली कांग्रेसमा मत विभाजित छ । अन्य राजनीतिक दलहरू भने निर्वाचनमा जाने मनस्थितिमा छन् । 

नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । आफूहरूको पहिल्यै राजनीतिक दल रहेको बताउँदै आउने निर्वाचनमा एजेण्डासहित प्रस्तुत हुने जिकिर गरे। निर्वाचनका लागि ओली एकमात्रै वाधक रहनुभएको उनको भनाइ छ । अरु कुनै कुराले निर्वाचन नरोकिने उनको स्पष्टोक्ति छ । 

सबै राजनीतिक दलहरूले निर्वाचनको प्रचार प्रसार गरिसकेपछि लतारिएर निर्वाचनमा आउनुको विकल्प ओलीसँग नरहेको उनको तर्क छ । सरकारको तयारी, राजनीतिक वातावरणको हिसावले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उनले बताए ।

उनले ओली सहजै निर्वाचनमा नआउने तर मुलुकको राजनीति र नागरिकहरूले लतारेपछि बाध्य हुने बताए ।  

प्रतिक्रिया दिनुहोस