घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०८२, १४ : ०२
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको परिणाम वाम आन्दोलनका लागि धेरै नराम्रो भएको बताएका छन्।

काठमाडौंमा जारी राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा छलफलका लागि पेश गरिएको प्रस्ताव कम्युनिस्ट पार्टीको नाममा ठुला भनिएका पार्टीहरूको सत्ता भन्दा बाहिर बस्न नसक्नुको कारणले अहिलेको नतिजा आएको बताए। पुराना भनिएका पार्टीहरू नराम्रोसँग पराजित हुँदा कम्युनिस्ट पार्टीहरूको अवस्था धेरै कमजोर अवस्थामा पुगिसकेको बताएका छन्।

प्रस्तावमा भनिएको छ, ‘जस्तो सुकै गठबन्धन गरेर भए पनि सरकारमा जाने र मुलुकका बेरोजगारी, भ्रष्टाचार तथा कुशासनको विरुद्ध लड्नुको सट्टा दलाल तथा बिचौलिया पुँजीवादीहरूसँग साँठगाँठ गर्ने प्रवृत्तिको विरुद्ध जनमत बढ्दै गएको तथ्य हामीले स्पष्ट रूपमा राख्दै आएका थियौँ । यसरी हेर्दा कम्युनिस्ट पार्टीका नाममा ती पार्टीहरूको बुर्जुवाकरण हुँदै गएको र जनताबाट अलग्गिँदै गएको तथ्यलाई इन्कार गरेर राजनीतिको वस्तुगत मूल्याङ्कन हुन सक्दैन ।’

२४ गतेको विध्वंसपछि संविधान बाहिरबाट संसद् विघटन, संविधान सरकारको गठन लगायतका घटना परिस्थितिजन्य भएको बताएका छन्।

प्रस्तावमा भनिएको छ, ‘भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेका विध्वंसपछि पार्टीहरूमा व्यापक पुनर्गठन र सुधारको अवसर समेत गुमाइसकेपछि निर्वाचनमा पराजय स्वाभाविक हुन गयो। पुराना पार्टीका नालायकी स्थापित नगरीकन भदौ २३ को जेनजी प्रदर्शनमा भएको घुसपैठ र २४ गतेको विध्वंसको षडयन्त्रका सत्य तथ्य खोज्न र स्थापित गर्न सकिँदैनथ्यो ।’

इतिहासमा कहिल्यै नब्यहोरेको आघातको राजनीतिक तथा संवैधानिक वैधताको परीक्षण नगरीकन अर्थात् अझ ठुला दुर्दिनका सम्भावनालाई खुलै राखेर निर्वाचन जाँदाको परिणाम गौरीबहादुर कार्की आयोगका एकतर्फी प्रतिवेदनले पुष्टि गरिसकेको उल्लेख छ।

उनले पार्टीले अपेक्षा गरेभन्दा धेरै कम पाएको बताए।प्रस्तावमा भनिएको छ, ‘समय त हामीसँग छँदै थिएन भन्दा हुन्छ । त्यस बाहेक समानुपातिक र प्रत्यक्षमा उम्मेदवारीको निर्णयमा, आर्थिक तथा प्रचार प्रसारको व्यवस्थापनमा अनेकौँ कमजोरीहरू रहे । धेरैजसो ठाउँमा हाम्रा कमिटीहरू बनेका थिएनन् भने भएकै कमिटीहरूको पनि सक्रियता र परिचालनमा धेरै कमजोरीहरू रहन गए ।’

निर्वाचनबाट असाधारण बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई निरन्तर खबरदारी पार्टीले गरिराख्ने बताए।


 

प्रतिक्रिया दिनुहोस