- नारायण अधिकारी
चितवन । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् ।
सामान्य समस्या भएका र पहुँच पु¥याउनेहरु टेलिफोन संवाद र निजीमा चिकित्सक भेट्ने गरेको भए पनि गरिब असाहयहरुले त्यो सुविधा पाउन सकेका छैनन् । अस्पतालसम्म आउन नै आफूसँग भएको रकम सकिने बिरामी सरकारी अस्पताल आउने गर्दछन् । अलिअलि बचेको रकम पनि निजीमा जानुपर्ने भएपछि औषधि किन्नसमेत उनीहरुले पाएका छैनन् ।
पहिले भरतपुर अस्पतालमा शल्यक्रिया गरेकामा समस्या भएपछि भरतपुर अस्पताल गएकी गोर्खाकी सरस्वती अधिकारीले उपचार नपाएर फर्कनुपरेको बताउनुभयो । बीमा पनि भएको र उपचार सस्तो हुने भएपछि भरतपुर अस्पताल गए पनि यहाँ हुँदैन अहिले भनेपछि फर्किएको उहाँको भनाइ छ । सरकारी अस्पतालबाट फर्किएका बिरामी निजी मेडिकल कलेज र निजी अस्पतालमा बहिरङ्ग सेवामा जान बाध्य भएका छन् । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सबै अस्पतालमा हुन्छन् । उनीहरु चिया पिएर समय बिताउँछन् तर बिरामी उपचार नपाएर फर्किरहेका छन् । यही मौकामा निजीले बहिरङ्ग सेवा सञ्चालन गरेका छन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी हाल आकस्मिक कक्ष र ज्वरो क्लिनिक मात्र सञ्चालन भएको बताउनुभयो । बल्लतल्ल सवारी खोजेर आएका बिरामी अस्पताल आएर पुनः फर्कनुपर्दा पीडा भएको उहाँले बताउनुभयो । भरतपुर अस्पतालले सबै चिकित्सकको नम्बर सार्वजनिक गरेको छ । ती अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । उनीहरुले बिरामीलाई त्यही बोलाउने गरेका छन् । तिवारी बिरामी फर्किएको स्वीकार्दै भीडभाड हुने भएकाले बहिरङ्ग सेवा सञ्चालन नगरिएको बताउनुभयो । कसरी व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर छिटो निर्णय लिने उहाँको भनाइ छ ।
भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा पाउने गरेका छन् । कोरोना सङ्क्रमणको उपचारका लागि भरतपुर महानगरपालिकाले स्थापना गरेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल पनि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले लेवल एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । लेवल दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तोकेको मेडिकल सुपरिटेण्डेन्ट तिवारीले बताउनुभयो ।
कोरोना सङ्क्रमित तर लक्षण नभएका बिरामीलाई कोरोना अस्पतालमा नराखेर भरतपुर अस्पतालमा राखिएको छ । यस कार्यको त्यही कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले चर्को विरोध गरिरहेका छन् । निजी अस्पतालमा बिरामी पठाउनका लागि सरकारी दुवै अस्पतालमा कोरोनाका बिरामी राखिएको आरोप लाग्ने गरेको छ । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले सरकारी दुवै अस्पतालमा कोरोनाका बिरामी राखेर बहिरङ्ग विभागसमेत बन्द गरेर निजीसँग सरकारी अस्पतालको व्यवस्थापन मिलेको आरोप लगाउनुभयो । तत्काल कोरोनाका बिरामी कोरोना अस्पतालमा राखेर भरतपुर अस्पतालबाट सर्वसाधारण जनतालाई सुरक्षित उपचार दिनुपर्ने उहाँको भनाइ छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले केन्द्रको निर्देशनानुसार बहिरङ्ग सेवा बन्द भएको भन्दै लकडाउन खुलेपछि स्वतः शुरु हुने बताउनुभयो । उहाँले हाल अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामीले कोरोना अस्पतालमा बस्न नमानेपछि भरतपुर अस्पतालमा ल्याउन बाध्य भएको बताउनुभयो । कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको उहाँको भनाइ छ ।
यस अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्रसूति गराउने गर्दछन् । प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । यो ६०० श्ययाको केन्द्रीय अस्पताल हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरकारी अस्पतालले आएका बिरामीलाई फर्काउन नहुने बताउनुभयो । भीडभाड नगरी बिरामीलाई सेवा दिनुपर्ने उहाँको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज