तीन वर्षमै रास्वपामा आधा दर्जन बढी विवाद

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, १० : ३२
तीन वर्षमै रास्वपामा आधा दर्जन बढी विवाद

काठमाडौं ।  ७ असार २०७९ मा टेलिभिजन पत्रकारिता छाडेर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल गठन गरे । उनलाई राजनीतिमा आउने भोक जब उनी टेलिभिजन पत्रकारितामा चर्चित हुन थाले त्यसबेला देखिकै हो । अझ उनको जीवनमा ३० साउन २०७६ मा आफैसँग पत्रकारितामा सहकार्य गरेका शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको घटना जोडिएर आयो, त्यसवेला रविले अब आफु पनि राजनीतिमा नआई नहुने निश्कर्ष निकालिसकेका थिए ।

तर उनी उपयुक्त समयको पर्खाईमा थिए । देशभित्रका पूराना दलहरुप्रति जनतामा आकर्षण थिएन । माओवादीको १० वर्षे जनयुद्ध र त्यसैको जगमा भएको २०६२र०६३ को जनआन्दोलनले ब्यवस्था परिवर्तन भएको थियो, जनताको अवस्थामा कुनै परिवर्तन आएको थिएन । कांग्रेस, एमाले र माओवादी जस्ता पूराना दलहरुभित्रै वैकल्पिक राजनीतिक शक्तिको चर्चा शुरु भएको थियो । डा बाबुराम भटटराई, उज्जवल थापा लगायतले नयाँ बैकल्पिक राजनीतिक शक्तिको चर्चा र अभ्यास सुरु गरेका थिए । तर त्यो प्रयास पनि सार्थक हुन सकिरहेको थिएन ।

रवि आफैको समेत केही प्रतिशत सेयर रहेर सुरु गरेको ग्यालेक्सी फोर के टेलिभिजनमा उनको मुख्य सञ्चालक अध्यक्ष जीबी राईसँग आन्तरिक द्दन्द्द सुरु भएको थियो । आफै जोडिएर खोलेको टेलिभिजनमा छोटै समयमा कि बाहिरिनु पर्ने या सम्झौता गरेर बस्नुपर्ने अर्का पेशागत बाध्यता उनका लागि आईलागेको थियो । भलै, यो विषयमा उनले मुख खोलेका छैनन । तर ग्यालेक्सी फोर के मा उनी हट्ने या हटाइने गरी वतावरण अस्वस्थ्थ हुँदै थियो ।

त्यही समय अर्थात २०७९ बैशाखमा मुलुकमा स्थानीय तह चुनाव भयो । काठमाडौँ, धनगढी, धरान लगायतका विभिन्न स्थानमा ठूलो मतान्तरले स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए । त्यसपछि भने उनलाई लाग्यो, टेलिभिजन पत्रकारिता चटट छोडेर राजनीतिमा फड्को हान्ने उपयुक्त समय यही हो ।

त्यसपछि नै हो, उनले ७ असारमा राष्ट्रिय सभा गृहमा टेलिभिजन कार्यक्रमबाटै कमाएका आफना शुभचिन्तकहरुलाई अगाडी राखेर औपचारिक पार्टी गठनको घोषणा गरेको । त्यही दिन उनले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिए ।

‘अब जान्नेलाई छान्ने’ नारा दिए ।  चुनाव चिन्ह्र गोलाकारभित्रको घण्टी लिए । (अहिले निर्वाचन आगोगले गोलाकार हटाईदिएको छ । घण्टी मात्र चुनाव चिन्ह्र छ) देशका मुख्य शहरहरुमा स्वतन्त्रको चर्चा चलिरहेका बेला उनले चलाखीपूर्ण ढंगले पार्टी नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । सुरुमा त्यसरी स्वतन्त्र नाम राख्न नपाइने भनी राजनीतिक वृत्तमा विरोध भयो । तर पनि १७ असारमा उनको दललाई निर्वाचन आयोगले बैधानिकता दियो । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी विधिबत रुपमा निर्वाचन आयोगमा दर्ता भयो ।

स्थापना भएको ६ महिनामै २० सीट जितेर रास्वपाले परम्परागत दलमाथि चुनौती खडा गरेको थियो । पार्टी स्थापनाको छोटो समयमै रास्वपा एकपछि अर्को विवादमा तानियो ।

सभापति विवादमा तानिए । सुरुमा नागरिकता विवादमा फसे । उनको दोहोरो नागरिकता विवादमा अन्ततः उपचुनाव भयो । त्यसपछि फेरि उनै चुनाव लडेर जिते ।
 महामन्त्री डा. मुकुल ढकालको विषयले पनि विवाद थप्यो । अझै यो लफडा जारी छ । रास्वपाले मुकुल ढकाललाई पदबाट हटाएपनि ढकाल सर्वाेच्च् अदालतसम्म पुगेका छन् ।

मन्त्री बन्न पैसा लेनदेन गरेको अडियो नै सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठको सांसद पद गयो । ढाका अहिले जेलमा छन् । उपसभामुख हुँदा अनधिकृत रूपमा केही युवालाई अमेरिका पठाउन लेटरहेड दुरुपयोग गरेको आरोप इन्दिरा रानाले खेपिन् ।

सभापति रवि लामिछाने शुरूमै नागरिकतामा दोषी देखिए । उनको सांसद पद नै गयो । पुन  चितवनबाटै निर्वाचित भए । ग्यालेक्सी टीभी चलाउँदा सहकारी ठगी गरेको प्रकरणमा रविविरुद्ध पाँचवटा जिल्ला अदालतमा मुद्दा चलेको छ । यसअघि उनका विश्वासपात्र नेता डा. मुकुल ढकालले सभापतिमाथि गम्भीर आरोप लगाएका थिए । आरोपकै कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट हटायो । तर, पनि रास्वपामा यस्ता विवाद आउने क्रम जारी नै छ ।

 

--