मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’

रासस

बुधबार, २८ जेठ २०८२, १३ : ५८
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’

चितवन ।  भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक रक्त सञ्चार केन्द्रले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ । अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग हुने गरेकामा ३० युनिट हाराहारी अस्पताल आफैले व्यवस्थापन गर्दै आएको हो ।

ब्लड बैंकका इञ्चार्ज विष्णुप्रसाद बाँस्तोलाका अनुसार गत वर्षको जेठ २ गतेबाट सञ्चालनमा आएको ब्लड बैंकमा हालसम्म दुई हजार ४०० युनिट पोका रगत सङ्कलन गरेर वितरण गरिएको छ । आफैँ विभिन्न ठाउँमा पुगेर रगत सङ्कलन गर्ने गरेको उनले बताए । उनले भने, “विभिन्न संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेर बोलाएको ठाउँमा हामी आफँै पुगेर रगत सङ्कलन गर्ने गरेका छौँ ।” ब्लड बैंकले अस्पताल परिसरमै नियमितजसो रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बाँस्तोलाका अनुसार विगतमा साप्ताहिक रुपमा कार्यक्रम आयोजना गरिँदै आएकामा गत चैतदेखि एक दिन बिराएर कार्यक्रम आयोजना गरिंदै आएको छ ।

अस्पताल आएका बिरामीका आफन्तले रक्तदान गर्ने गरेको उनले बताए । यसरी कार्यक्रम आयोजना गर्दा प्रत्येक कार्यक्रमबाट ३० देखि ३५ युनिट रगत सङ्कलन हुने गरेको छ । थप जनचेतना जगाउन सके रक्तदानको सङ्ख्या थपिने उनको भनाइ छ ।

भरतपुर अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगतको माग हुने भन्दै उनले ५० प्रतिशत मात्रै आपूर्ति गर्न सकिएको बताए । बाँकी ५० प्रतिशत हाराहारी रगत नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबाट आफूर्ति हुने गरेको उनले जानकारी दिए ।

हाल अस्पतालको ब्लड बैंकबाट होल ब्लड, प्लेटलेटयुक्त सेतो प्लाज्मा (पिआरपि), प्याक सेल भोलुम (पिसिभी) र फ्रेस फ्रोजन प्लाज्मा (एफएफपि) समेत दिने गरिएको छ । बिरामीको आवश्यकताअनुसार यस्तो रगत दिने गरिएको बाँस्तोलाको भनाइ छ । हाल अस्पतालमा ५०० युनिट रगत सुरक्षित राख्ने क्षमता रहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बिरामीलाई रगत खोज्न अन्यत्र भौतारिन नपरोस् भनेर नै अस्पताल आफैँले ब्लड बैंक स्थापना गरेर सञ्चालन गरेको बताए । ब्लड बैंक स्थापनाको सुरुआती चरणमा ब्लडको सबै प्रोडक्ट दिन नसकिए पनि विस्तार विविधिकरण गरिंदै लगिएको उनले बताए । ब्लड बैंकको क्षमता र गुणस्तर थप विस्तार गर्दै लैजाने उनले बताए ।

बिरामीबाट रगत परीक्षण शुल्कबापत अन्यत्र रु ८०० देखि ९०० सम्म लिने गरेको भन्दै प्रा डा पौडेलले आफूहरुले रु ६०० मा नै दिने गरेको बताए। स्वास्थ्य बिमामार्फत रगत पाइन्छ भने बागमती प्रदेशभित्रको ठेगाना हुनेले नागरिकताको फोटोकपी दिएमा रगत परीक्षण शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । सुत्केरी, मिर्गौलाको डायलासिस, थालेसेमिया र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बढी मात्रामा रगतको आवश्यकता पर्ने गर्दछ । हाल यसै अस्पतालमा उपचाररत बिरामीलाई मात्रै यहाँबाट रगत दिने गरिएको छ ।

आफन्त र स्वयंसेवीको भर

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा अहिले बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा रगत सङ्कलन गर्नुपरेको छ । अत्यधिक गर्मीका कारण जिल्लामा रक्तदानका कार्यक्रम कम हुँदा बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा बिरामीलाई रगत पु¥याउनु परेको हो ।

जिल्लामा रहेका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र २८ साना अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा रगतको माग बढेको छ । रगतको माग बढेपछि रक्तदानका कार्यक्रम भने बढ्न नसकेको रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताए ।

उनका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी दैनिक १५० युनिट रगतको माग हुने गरेको छ । सङ्कलन मुस्किलले ४० युनिट हुने गरेको उनले बताए । रक्तदान गर्ने युवा विदेशिदा रगतको समस्या देखिने गरेको उनको बुझाइ छ । उनले भने, “बढ्दो गर्मीका कारण रक्तदाताले रक्तदान गर्न छाडेको छन् ।” अहिले क्याम्पसमा पढाइ नहुनु, राजनीतिक दलहरुले रक्तदानलाई प्राथमिकता नदिनु, नयाँ रक्तदाता बढ्न नसक्नुजस्ता कारणले रगतको अभाव हुने गरेको पौडेलको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले अहिले देशभरि नै रगतको समस्या रहेको बताए । यस केन्द्रले चितवनसहित १२ जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको छ । अहिले रक्तदान कार्यक्रम नै हुन नसकेको उनको भनाइ छ । उनले भने “बिरामी लिएर आएका आफन्तले समेत रगत दिन डराउने गर्दा समस्या भएको छ ।”

जिल्लाका अस्पतालमा चार युनिटबाट रगतको व्यवस्था गरिँदै आइएको छ । भरतपुर अस्पताल परिसर, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल र बकुलहर अस्पताल युनिटबाट रगत दिने व्यवस्था गरिएको छ । यहाँका अस्पतालमा वार्षिक ६० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने गरेको उनले जानकारी दिए।