धरान। गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो।
भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो । विस्तारै धुवाँको मुस्लो बढ्दै गयो । आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो ।
आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो । सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगरी भवनभित्र पसेर ११ जनाको जीवन बचाउन सफल भयो सशस्त्र प्रहरी बलका उद्धार टोली ।
प्लाजामा आगो लाग्दै गर्दा एउटा तस्वीर ‘भाइरल’ बनेको थियो त्यतिबेला । सशस्त्र प्रहरी सहायक हबल्दार डोरीमा झुण्डिएर प्लाजामा फसेर सर्वसाधारणको उद्धार गर्न खटिएका थिए । आगोको ताप, धुवाँको अन्धकारमा त्यतिबेला सशस्त्र प्रहरीको मुक्तकण्ठले प्रशंसा सामाजिक सञ्जालमा भएको थियो ।
भवनको चार तलामा फसेका सर्वसाधारणलाई डोरी र भर्याङमार्फत सशस्त्र प्रहरीले बाहिर निकालेको त्यो दृश्य केबल साहसको कथा मात्र थिएन, त्यो दैनिक तयारी, तालिम र जनताको सुरक्षाप्रति गहिरो प्रतिबद्धताको प्रमाण पनि थियो ।
प्लाजाको आगलागीमा सशस्त्र प्रहरी बल सुनसरीबाट एक सयभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए । त्यतिबेला केही सुरक्षाकर्मी आफैँ पनि घाइते भए तर उद्धार कार्य भने रोकिएन ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा भन्छन्, ‘हामीलाई थाहा थियो, आगोभन्दा अघि हामीले त्यहाँ पुगेनौँ भनेभित्रका मानिस बाँच्दैनन्। आगोले ठूलो मानवीय क्षति गर्ने थियो होला हामीले त्यसबेला तालिम होइन, जिम्मेवारी निभाइरहेका थियौँ’, उपरीक्षक थापाले भने । नौ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो भने बाँकी दुई जना नेपाल प्रहरी, नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ साउन २०८२, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर