राष्ट्रियसभा बैठक : हवाइ सेवा व्यवस्थित गर्न संसदमा आयो दुई विधेयक, रेडियोधर्मी विधेयक पारित

सफल खबर संवाददाता

सोमबार, ०३ चैत्र २०७६, १९ : ३५
राष्ट्रियसभा बैठक : हवाइ सेवा व्यवस्थित गर्न संसदमा आयो दुई विधेयक, रेडियोधर्मी विधेयक पारित

फाईल फोटो

काठमाडौं । ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक, २०७६’ लाई आज राष्ट्रियसभाको सर्वसम्मतीले पारित गरेको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक, २०७६’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा शिक्षा मन्त्री गिरिराजणि पोखरेलले ‘शिक्षा सम्बन्धी केही नोपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो । 

राष्ट्रियसभाको आजको बैठकले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यागमन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वस्कृत गर्दै विधायन व्यवस्थापन समितिमा पठाइएको हो । आजको बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’माथि प्रतिनिधिसभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । 
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकुल बनाउ आवश्यक भएकाले विधेयक ल्याईएको जानकारी दिएका थिए । 

हवाई सेवा व्यवस्थित गर्न दुई विधेयक संसदमा 
त्यसैगरी, राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाइसेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागारिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको दुबै विधेयकलाई सर्बसम्मतीले स्वीकृत गरेको हो । यही फागुन ११ गते उक्त विधेयक संसदमा दर्ता भएको थियो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देश भित्रकै लामो अनुभवको आधारमा छुट्टाछुट्टै कानूनको आवश्यकता महसुस गरी दुई विधेयक ल्याइएको बताए । 

“हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण नियमनकारी र सेवा प्रदायक काम गर्ने अलगअलग संस्था हुन्, त्यसैले एकै ठाउँमा राख्दा चाहना बाझिने र घटना घट्दा अधिकार र दायित्वको विषयमा अलमल हुँदा विधेयक ल्याउनुपरेको हो ।”–मन्त्री भट्टराईले भने । 

मन्त्री भट्टराईले हवाई सेवाको क्षेत्रमा दुबै संस्था अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उड्डयन क्षेत्रको सञ्चालन, व्यवस्थापन, प्रशिक्षण र नियमनमा यसले थप उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे । युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचिमा राखेको विषयमा सांसदहरुले उठाएको प्रश्नमा उहाँले दायित्व र जिम्मेवारीमा द्वन्द्व भएकाले विगतमा समस्या उत्पन्न हुने गरेको स्वीकार गर्दै ऐन आएपछि भने उक्त समस्या हल हुने विश्वास दिलाए । 

विधेयकमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कोमल ओली र रामनारायण विँडारी, नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी, सांसद जितेन्द्रनारायण देवलगायतले छलफलमा भाग लिएका थिए । 

सरकारको ध्यानाकर्षण 
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका छन् । आजको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाको राष्ट्रिय सभाकाका प्रमुख सचेतक खिमलाल भट्टराई भने,“नेपालको भूमि सम्वन्धी समस्या लामो समयसम्म समाधान हुन सकेको छैन, सुकुम्वासी, भूमिहिनको समस्या ज्यूँका त्यूँ छ, लोकतन्त्र, गणतन्त्र, समावेशीता जनताको योगदानबाट आएको हो, सरकारले त्यसलाई प्राथमिकतामा राख्नुपर्छ, भूमिहिनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन सक्दैन ।”
विशेष समयमा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले धर्म निरपेक्षता र गणतन्त्रको विरुद्धमा आवाज उठाइरहेकले यो संयोग मात्र हुन नसक्ने भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले “महिनौँदेखि संवैधानिक परिषद् र मन्त्रीपरिषद्को वैठक बस्न सकेको छैन, जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन,   भ्रष्टाचार मौलाएको छ, महङ्गी, कालो बजारी बढ्दै गएको छ ।” सांसद चक्रप्रसाद स्नेहीले वर्तमान निर्वाचन प्रणालीले गर्दा नै देशमा भ्रष्टाचार मौलाएको र देश धराशाही बन्दै गएको आरोप लगाउँदै संविधान संशोधन गरेर भएपनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने माग गरे । 

सांसद इन्दू कँडरियाले छिमेकी मुलुक भारतका कारण सिमानामा नेपाली जनताले भोग्नु परेको समस्या समाधान गर्न संसद र सरकारको ध्यानाकर्षण गराउनुभयो । 
सांसद मृगेन्द्र कुमार सिंह यादवले ठेकेदारको लापरवाहीले हुलाकी राजमार्ग समयमै सम्पन्न हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउँदै संविधानलाई संशोधन गरेर भएपनि सर्वस्वीकार्य बनाउनुपर्ने माग समेत गरे । 

सांसद  विमला घिमिरेले कोभिड–१९ (कोरोना भाइरस) का कारण विभन्नि देशहरु आक्रान्त बनिरेहको अवस्थामा नेपालको तराई जिल्लाका खुल्ला सिमानामा कडाई गर्नुपर्ने बताइन् । 
सांसद हरिराम चौधरीले विभिन्न जिल्ला अवैधानिक वन फडानी भइरहेको सन्दर्भ उल्लेख गर्दै प्रभावकारी अनुगमन गरी  दोषी उपर कडा कारवाहीको माग गरे । 

सांसद राधेश्याम पासवान र मायाप्रसाद शर्माले पछिल्लो समयमा भ्रष्टाचार बढ्दै गएको भन्दै अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको अर्को बैठक भोलि चैत्र ४ गते दिउँसो १ बजे बस्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस