एनआईसी एसिया, लक्ष्मी बैङ्क, सनराइज बैङ्कले गरे लोभलाग्दो नाफा

पत्रपत्रिकाबाट

शनिबार, १८ माघ २०७६, ०९ : ०२
एनआईसी एसिया, लक्ष्मी बैङ्क, सनराइज बैङ्कले गरे लोभलाग्दो नाफा

काठमाडाैं । पुस मसान्तको समाप्तिसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरू दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेतर्फ केन्द्रित छन् । 

हालसम्म आठवटा वाणिज्य बैङ्कहरूले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । बैङ्कहरूको नियामक निकाय नेपाल राष्ट्र बैङ्कको प्रावधान अनुसार त्रैमास सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि माघ तेस्रो साता पुग्नै लाग्दा आठवटाले सार्वजनिक गरेका हुन् ।

अहिलेसम्म एनआईसी एसिया बैङ्क, नेपाल बैङ्क लि., एभरेस्ट बैङ्क, सनराइज बैङ्क, सिटिजन्स बैङ्क, सिद्धार्थ बैङ्क, सानिमा बैङ्क र लक्ष्मी बैङ्कले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएको वित्तीय विवरणका अनुसार दोस्रो त्रैमासमा एनआईसी एसिया, लक्ष्मी बैङ्क, सनराइज बैङ्कले राम्रो नाफा गरेका छन् ।
एनआईसी एसियाले ३३, लक्ष्मी बैङ्कले २४.७६, सनराइजले १९, सानिमाले १७ र एभरेस्ट बैङ्कले साढे पाँच % नाफा बढाएका हुन् भने सिटिजन्स, सिद्धार्थ र नेपाल बैङ्कको नाफा घटेको छ । यसअघिको पहिलो त्रैमासमा पनि बैङ्कहरूले नाफा घटाएका थिए भने दोस्रो त्रैमासमा पनि बैङ्कहरूको नाफामा क्रमशः सङ्कुचन आउँदै गइरहेको देखिएको छ । कतिपय बैङ्कहरूले खुद ब्याज आम्दानी घटाएकाले पनि नाफामा गिरावट आएको देखिएको छ ।

वाणिज्य बैङ्कहरूको प्रस्तुत गरेको वित्तीय विवरणका आधारमा सानिमा बैङ्कले दोस्रो त्रैमासमा नाफा १६.८४ % बढाएको छ । चालू आर्थिक वर्षको छ महिनामा बैङ्कले एक अर्ब १४ करोड ७४ लाख रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले ९८ करोड २० लाख रुपियाँ नाफा गरेको थियो । बैङ्कले अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा १६ करोड ५४ लाख रुपियाँ बढेको हो ।

यसैगरी एभरेस्ट बैङ्कको विवरणअनुसार दोस्रो त्रैमासमा बैङ्कको नाफा ५.५८ % मात्र बढेको छ । पुससम्म बैङ्कले एक अर्ब ५० करोड ९८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले एक अर्ब ४२ करोड ९९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । गतवर्षको सोही अवधिको तुलनामा बैङ्कले आठ करोड रुपियाँ नाफा बढाएको छ ।

एनआईसी एसिया बैङ्कको चालू आर्थिक वर्षको छ महिनामा खुदनाफा ३३.३९ % बढेको छ । पुससम्म बैङ्कले दुई अर्ब एक करोड ६२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५१ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो । बैङ्कले गतवर्षको तुलनामा ५० करोड ४७ लाख रुपियाँ नाफा बढाएको छ । नेपाल बैङ्कको दोस्रो त्रैमासमा नाफा साढे १८ % ले घटेको छ भने अधिकांश सूचक सामान्य छन् । बैङ्कले एक अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा बैङ्कले एक अर्ब ६६ करोड १४ लाख रुपियाँ कमाएको थियो । बैङ्कको खुद ब्याज आम्दानी घटेपछि बैङ्कको नाफा ३१ करोड रुपियाँले घटेको हो ।

सिद्धार्थ बैङ्कको पनि दोस्रो त्रैमासमा नाफा घटेको छ । छ महिनामा बैङ्कले एक अर्ब दुई करोड ६५ लाखरुपियाँ खुद नाफा आर्जन गरेको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले एक अर्ब छ करोड ९४ लाख रुपियाँ नाफा गरेको थियो । बैङ्कको नाफा झन्डै चार करोड रुपियाँ घटेको छ ।

सनराइज बैङ्कको भने दोस्रो त्रैमासमा खुदनाफा १९ %ले बढेको छ । छ महिनामा बैङ्कले ९४ करोड ४३ लाख रुपियाँ खुद नाफा गरेको छ । गतवर्षको सोही अवधिमा बैङ्कले ७९ करोड २७ लाख रुपियाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा बैङ्कले १५ करोड रुपियाँ नाफा बढाएको छ ।

लक्ष्मी बैङ्कले भने दोस्रो त्रैमासमा नाफा २४.७६ %ले बढाएको छ । छ महिनामा बैङ्कले ९० करोड ३० लाख रुपियाँ पु¥याएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ७३ करोड ३७ लाख रुपियाँ नाफा गरेको थियो ।
सिटिजन्स बैङ्कले भने दोस्रो त्रैमासमा नाफा घटाएको छ । गत पुससम्म बैङ्कले ६८ करोड ७७ लाख रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले ७७ करोड रुपियाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैङ्कको नाफा झन्डै १० करोड रुपियाँ घटेको हो ।गोरखापत्रमा खबर छ ।