ओली झन् आक्रामक : विद्या भण्डारीमाथि बालुवाटारबाटै ‘राजनीतिक प्रहार’

एमालेभित्र नेतृत्वको शक्तिकेन्द्रमा नयाँ घर्षण

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, ०९ : ५८
ओली झन् आक्रामक : विद्या भण्डारीमाथि बालुवाटारबाटै ‘राजनीतिक प्रहार’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक संकेत र अभिव्यक्तिपछि नेकपा एमालेभित्र असाधारण तरंग पैदा भएको छ । र, त्यसको केन्द्रमा छन् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । एमालेको नवौं केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता नविकरण नगर्ने निर्णय पारित गरिएपछि ओलीले अझ खुला रुपमा आफ्नो असन्तुष्टि पोख्न थालेका छन् ।

शनिबार साँझ ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा डाके । बैठकको मूल उद्देश्य संगठन सुदृढीकरण थियो, तर अधिकांश समय ओलीले भण्डारीमाथि आक्रोश पोख्नमै बिताए ।
“अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का मात्र हो, समाधान सामान्य रूपमा हुन्छ । तपाईंहरू यसमा अल्झनु पर्देंन । आफ्नो क्षेत्रको संगठन निर्माणमा लाग्नुहोस्,” ओलीको भनाइ उद्धृत गदै सहभागी एक केन्द्रीय सदस्यले भने ।

पूर्वराष्ट्रपति भण्डारीले आफूले हुलहुज्जतमा सदस्यता गुमाएको दाबी गरेकी छिन् भने ओली त्यसलाई अस्वीकार गर्दै ‘त्यागिएको सदस्यता नवीकरण हुन नसक्ने’ अडानमा छन् । “उहाँले आफैं सदस्यता नवीकरण गर्ने निर्णय गर्नुभयो । त्यागिएको सदस्यता नवीकरण हुँदैन, नयाँ लिनुपर्छ वा राजनीतिक निर्णयबाट मात्र सम्भव हुन्छ,” ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने ।

ओलीको भनाइ स्पष्ट छ - भण्डारी एमालेमै रहन सक्दिनन्, र उनी अब पार्टीको औपचारिक हिस्सा छैनन् । तर भण्डारीको पछिल्लो सक्रियता, सार्वजनिक टिप्पणी र नेताहरूसँगको छलफलले ओलीलाई अझै असहज बनाएको देखिन्छ ।

ओलीको भनाइ स्पष्ट छ - भण्डारी एमालेमै रहन सक्दिनन्, र उनी अब पार्टीको औपचारिक हिस्सा छैनन् । तर भण्डारीको पछिल्लो सक्रियता, सार्वजनिक टिप्पणी र नेताहरूसँगको छलफलले ओलीलाई अझै असहज बनाएको देखिन्छ ।

पार्टीको विधान संशोधन गरेर फेरि अध्यक्ष बन्ने बाटो खोलिरहेका ओलीको नजरमा भण्डारी भविष्यकी सम्भावित प्रतिस्पर्धी बनेकी छन् । खासगरी केन्द्रीय कमिटीमा भण्डारीप्रति सहानुभूति देखाउने नेताहरूको संख्या बढ्दै जाँदा ओली सजग मात्र होइन, कठोर रणनीतिमा उत्रिएका छन् ।

ओलीले प्रत्यक्ष नबताए पनि, उनका पछिल्ला कदमहरूबाट स्पष्ट छ- उनी भण्डारीको पुनरागमनलाई ‘राजनीतिक चुनौती’ का रूपमा हेर्दैछन् । यसै कारण, बैठकमा बहस गरेर होइन, अध्यक्षकै निर्देशनबाट सदस्यता नविकरण नहुने निर्णय गरियो । यसरी, संगठनमा वैधानिक प्रक्रिया भन्दा राजनीतिक व्यूह रक्षालाई प्राथमिकता दिइएको प्रस्ट छ ।

बालुवाटारमा ‘डेमेज कन्ट्रोल’

भण्डारीको सम्भावित प्रभाव न्यून गर्न ओलीले अब प्रायः दिनहुँजसो विभिन्न प्रदेशका नेताहरूलाई बालुवाटार डाकेर आफ्ना कुरा राखिरहेका छन् । उनीहरूलाई ‘विवादमा नअल्झन’ निर्देशन दिँदै आफूप्रति निष्ठावान् रहन आग्रह गरिरहेका छन् । तर, यो नियमित ‘ब्रिफिङ’ का नाममा राजनीतिक आक्रोश पोख्ने थलो बन्न थालेको छ, जहाँ भण्डारीप्रति गुनासो, सन्देह र रणनीति निर्माण भइरहेका छन् ।

एकातिर ओली नेतृत्वदायी भूमिकालाई जोगाउन रणनीतिक रूपमा कडा हुँदै गएका छन्, अर्कातिर भण्डारी एमालेकै केही नेताको सहानुभूति बटुल्दै सशक्त विकल्प बन्ने संकेत दिइरहेकी छन् । यस्तो अवस्थामा, एमालेभित्र नेतृत्वको शक्तिकेन्द्रमा नयाँ घर्षण सिर्जना भएको छ, जसले निकट भविष्यमा संगठनको एकता, अनुशासन र भावी नेतृत्वमा समेत निर्णायक प्रभाव पार्न सक्छ ।

अहिलेलाई ओलीको अभिव्यक्ति र रणनीति भण्डारीविरुद्ध प्रत्यक्ष प्रहार देखिए पनि यो लामो संघर्षको सुरुआत मात्रै हुन सक्छ । राजनीतिक रूपमा असफल गराउने ओलीको प्रयास र भण्डारीको सम्भावित उदयबीचको द्वन्द्व अब एमालेको आगामी यात्रा निर्धारण गर्ने र नयाँ मोड बन्ने संकेत प्रस्ट हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस