काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस-एमाले गठबन्धनपछि बागमती प्रदेशमा कांग्रेसले नेतृत्व गरेको सरकार गम्भीर संकटमा परेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसकै ३७ मध्ये २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कांग्रेसभित्रको किचलो खुल्ला रुपमा सतहमा आएको हो ।
मुख्यमन्त्री लामा र पार्टी प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँबीचको शक्ति संघर्ष यो संकटको मूल हो । दुवै जना देउवा निकट नेताका रूपमा चिनिँदै आएका भएपनि अब यी दुईको टकराव निर्णायक मोडमा पुगेको छ ।
बानियाँ पक्षले लामासँग एक वर्षको कार्यकालपछि मुख्यमन्त्रीको जिम्मा आफूलाई सुम्पने सहमति भएको दाबी गर्दै आएको छ । उक्त सहमतिअनुसार लामाले राजीनामा दिनुपर्ने माग गरे पनि उनले नमानेपछि सांसदहरूको हस्ताक्षर संकलन गरी दलकै नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् ।
“सहमति अनुसार अब बानियाँलाई सरकारको नेतृत्व दिनुपर्ने हो, तर मुख्यमन्त्रीले नमानेपछि हामीलाई यो बाटो रोज्नुप¥यो,” बानियाँ पक्षका एक सांसदले बताए । उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले समेत लामालाई टेलिफोनमार्फत राजीनामा दिन भनेका थिए ।
तर मुख्यमन्त्री लामा भने यस्तो कुनै सहमति नभएको अडानमा छन् । “यदि त्यस्तो सहमति भएको भए संसदीय दलको नेता चयनमै प्रतिस्पर्धा हुन्थेन,” लामाको भनाइ छ । उनी अहिले सत्ता जोगाउन काठमाडौंमा सक्रिय गृहकार्यमा छन् । उनी कांग्रेस नेताहरू र सत्ता गठबन्धनमा रहेका एमाले नेताहरुको घरदैलो धाइरहेका छन् । कतिपय अवस्थामा लामाले आफु अविश्वास प्रस्ताव फेस गर्ने भएकोले आफुलाई साथ दिन विपक्षी माओवादीसँगको सम्पर्कमा पनि लामा पुगेको बताइएको छ ।
मुख्यमन्त्री लामा दलको नेताबाट मात्र नभई सरकारबाट समेत राजीनामा नदिने अडानमा छन् । “संयुक्त सरकारको नेतृत्व गर्न दलको नेता हुनैपर्छ भन्ने छैन । म मुख्यमन्त्री छु, राजीनामा दिन्न,” उनले भने । उनले राजीनामा दिएका मन्त्रीहरूको ठाउँमा नयाँ नियुक्ति गर्ने तयारीसमेत गरिरहेको जनाएका छन् ।
लामाले देउवालाई अझै सम्मान गर्ने बताए पनि परिस्थितिको बदलिंदो समीकरणले आफूलाई विवश बनाउने संकेत गरेका छन् । “हिजो पनि शेरबहादुर दाइको साथमा थिए, आज पनि छु । तर भोलिको दिन के हुन्छ भन्ने परिस्थिति हेरेर मात्रै भन्न सकिन्छ,” लामा भन्छन् ।
कांग्रेसले केन्द्रबाट बागमतीको संकट समाधानका लागि काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसीलाई जिम्मा दिएको छ ।
“दलको नेता हटाउने वा बनाउने निर्णय प्रदेश संसदीय दलको हो । केन्द्रको भूमिका केवल सहजीकरणको हो,” महामन्त्री विश्वप्रकाश शर्माले भने । केसीले पनि लामासँग भेट गरिसकेका छन् ।
बागमती सरकारको नेतृत्व देउवा समूहभित्रकै प्रतिस्पर्धाका कारण संकटमा परेको हो । यो संकटले कांग्रेसभित्रको आन्तरिक गुटबन्दी मात्र उजागर गरेको छैन, बरु अबको नेतृत्व कसले लिन्छ भन्ने बहसमा समेत नयाँ मोड दिएको छ । मुख्यमन्त्री लामा संकट टार्न प्रयत्नशील छन्, तर दलभित्रकै बहुमत सांसद उनीविरुद्ध उभिँदा उनको स्थान जोगिन सक्ने सम्भावना धुमिल देखिएको छ ।
यस पटकको शक्ति सन्तुलनमा संस्थापन इतर पक्ष भने स्पष्ट रूपमा तटस्थ देखिएको छ । शेखर कोइराला पक्षले यो आन्तरिक विवादमा प्रवेश नगरेको अवस्था छ । बानियाँ विकल्पमा आएका कारण कोइरालाको चासो पनि सीमित देखिएको छ ।
यसरी कांग्रेसभित्रको आन्तरिक खिचातानीका कारण बागमतीको सत्ता संकट चुलिएको छ । अब केसीको सहजीकरण र पार्टी नेतृत्वको हस्तक्षेप कति प्रभावकारी हुन्छ भन्नेमा सरकारको भविष्य टाँगिएको देखिन्छ ।
कांग्रेसभित्रको विवादले सरकारमा चरम असन्तुष्टि बढेकोले अब कांग्रेसले आफुहरुलाई नेतृत्व छोडिदिन एमालेले आग्रह गर्न थालेको छ । एमालेसँग पनि कांग्रेसले बागमती सरकार समेत आलोपालो नेतृत्व गर्ने समझदारी छ । एमालेले भने यही बेला आफुलाई सरकारको नेतृत्व गर्न दिन कांग्रेससँग आग्रह गर्न थालेको छ ।
शेखर कोइराला पक्ष भने बहादुर र इन्द्र बानियाँ बीचको यो लडाईंमा पर्ख र हेरको नीतिमा उभिएको छ । बानियाँ पक्षलाई देउवाले बोक्दा लामा विच्किने र अहिलेसम्म देउवाको साथमा रहेका लामालाई आफुतिर तान्न सकिन्छ की भन्ने राणनीतिमा शेखर कोइराला पक्ष लागेको छ । जसकाकारण कांग्रेसभित्रको यो पक्षले बागमती विवाद पर्ख र हेरको नीति लिएको छ । बहादुरले अहिलेसम्म देउवालाई साथ दिएको र अव परिस्थिती हेर्ने बताएपछि उनले कांग्रेसभित्रको गुट फेर्न सक्ने संकेत देखाएको भन्दै शेखर पक्षले भने विवादमा आफनो राजनीति बलियो बनाउने रणनीति लिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री