चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ छावा जन्मिएका छन्। विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो।
केन्द्रमा ती देशबाट छ भाले र १४ पोथी हात्ती ल्याइएको थियो। विसं २०४९ चैतमा पहिलोपटक यहाँका हात्तीले छावा जन्माएका केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए। उनका अनुसार त्यसयता हालसम्म ६८ छावा जन्मिएकामा सातको मृत्यु भइसकेको छ।
चौधरीले हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ पोथी रहेका जनाउँदै हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ हात्ती रहेका उल्लेख गरे। “प्रजनन केन्द्रमा २२ हात्ती छन्। तीमध्ये नौ माउ र १३ बच्चामध्ये छ वटालाई तालिम दिएर राखिएको छ। केही दिनमा तिनीहरूलाई पनि पोष्टमा पठाइँदै छ”, उनले भने।
पछिल्लो समय जन्मिएका सात वटा छावा केन्द्रमा रहेका चौधरीले बताए। यहाँ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोष्टहरूमा पठाउने गरिएको जनाउँदै उनले यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरूप नामाकरण गर्ने गरिएको बताए।
“पहिलेपहिले राजा र राजपरिवारका सदस्यको नाममा नामाकरण गरिन्थ्यो। पछिल्लो पटक निकुञ्जमा कार्यरत रहेर हालै निधन भएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामाकरण गरिएको छ”, केन्द्रका प्रमुख चौधरीले भने।
लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको यही साउन ७ गते न्वारन गरेर वेदगज नाम राखिएको उनले बताए। उनका अनुसार हात्तीको छावा जन्मिएको १२औं दिनमा न्वारन गर्ने प्रचलन छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेशप्रसाद पन्तले वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा धेरै चुनौतीको सामना गर्दै काम गरेकाले उनको सम्मानमा छावाको नामाकरण गरिएको बताए।
उनका अनुसार नयाँ नाम राखिएको वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो। बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छन्।
तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामाकरण गरिएको संरक्षण अधिकृत पन्तले बताए। “प्रजनन केन्द्रमा जङ्गली हात्ती नानापाटेघर, ध्रुवे, गोविन्दे, रोनाल्डो, कृष्णे लगायत आएर संसर्ग गर्दछन्। यहाँ जन्मिएका छावाहरू तिनैका सन्तान भएको अनुमान छ”, उनले भने।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ साउन २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी
गोहीको अण्डा संकलन सुरु
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ